विवाद, नाराबाजीबिच गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा तानिएको छ । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० सांसद समर्थन गरिएका थिए । विपक्षमा २७ मत र मत दिन्न भन्नेमा २ मत परेको थियो । सभामुख कृष्ण धितालले ३० मत प्रदेशसभाको बहुमत भएको भन्दै मुख्यमन्त्रीलाई सदनबाट विश्वासको मत पाएको घोषणा गरेका थिए ।
सभामुख धितालले बहुमत पुगेको घोषणा गरेपछि कांग्रेस ६० सदस्य प्रदेशसभामा ३० लाई बहुमत मान्न नसकिने भन्दै सभामुखको उक्त कदम संविधानविपरीत रहेको भन्दै विरोध गरे । कांग्रेसको उक्त विरोधसँगै मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानिएको छ । बहुमतका लागि ३१ सांसद आवश्यक पर्ने भए पनि ३० जनाकै भरमा बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेसका सांसदले बैठकमै नाराबाजी गरेका थिए । सभामुखले असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध कानुनी उपचारमा जाने समेत कांग्रेस सांसदहरुले प्रतिक्रिया दिएका छन् ।
