प्रचण्ड नेतृत्वको सरकार अलोकतान्त्रिक र भ्रष्ट हो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार कामै नलाग्ने भएको आरोप लगाएका छन् । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ । पार्टी मुख्यालय, च्यासलमा आज शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशनमा ओलीले भने, ‘यो सरकार काम लाग्ने सरकार होइन, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो सरकार गैरकानुनी, बेतिथिसँग चल्ने सरकार हो ।’
उनले अहिलेको सरकारले एकपछि अर्को गरेर लोकतान्त्रिक पद्धति मासेको पनि बताए । उनले सरकारले गैरआवासीय नेपाली संघ र स्काउटमा अनावश्यक हस्तक्षेप गरेको पनि टिप्पणी गरे ।
उनले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताए । उनले स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने, प्रधानमन्त्री हार्ने कुराले अधिवेशन रोकिने कुरा आफूले बुझ्न नसकेको बताए । उनले स्काउटको सम्पती काँग्रेसले अहिलेसम्म लुटेर खाएको बताए । रेडक्रस, गैरआवासीय नेपाली संघ चल्न नदिने लगायतका उद्दण्ड काम सरकारले गरिरहेको बताए ।
उनले भने ‘अहिले सरकार यस्तो छ, आजबाट स्काउटको अधिवेशन हुने, विदेशीहरू पनि आए । स्काउट एउटा स्वतन्त्र संस्था हो । मानका लागि त्यहाँ प्रधानमन्त्रीलाई संरक्षक भनेको हुन्छ । मानका लागि हो त्यो । मानका खातिर मान मात्रै हो । संरक्षकले निर्देशन दिन सक्नेछन् भनेको हुन्छ । निर्देशन दिने भनेको भाताभूंग पार्न निर्देशन दिने भनेको होइन । सकारात्मक सुझाव दिने, सकारात्मक काम गर्न निर्देशन दिने हो । हस्तक्षेप गर्नलाई निर्देशन भनिँदैन । प्रधानमन्त्रीजीले विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयार भइसक्यो । गठबन्धनले नजित्ला जस्तो देखियो रे । आजबाट सम्मेलन छ, चुनाव होला सायद । हिसाब गर्दा गठबन्धनै नजित्ने सम्भावना देखियो रे, त्यसो भएर सम्मेलन स्थगित गर्नु, संस्थाको खर्च भयो होला, पाहुना आएका छन्, त्यहाँका नेतृत्व आएका छन् । नेपालको इज्जत के हुन्छ रु इज्जत, बेइज्जतको ख्याल छैन । त्यो सम्पती लुटेर, हडपेर त्यहाँ काँग्रेसले लुटेर खाइरहेको छ, अहिले पनि । दादागिरी मसल देखाएर खाइरहेको छ । स्काउट राम्ररी चल्नु भएन, स्काउटले राम्रोसँग काम गर्नु भएन भनेर यसलाइृ भङ्ग गरेको हो । सम्मानित अदालतले कामकाजी गर्न आदेश दिएको हो । अदालतको आदेशविपरित सरकार स्थगित गाउन आदेश गर्छ । मैले प्रधानमन्त्रीलाई भर्खरै सोधेँ हारिने भएको साँच्चै हो । प्रधानमन्त्रीले कसरी हार्छ, काँग्रेसले कसरी हार्छ र ? स्काउटमा मैले बुझिन । मैले प्रधानमन्त्रीलाई सोधेँ तपाईँहरू हार्ने भएको हो र ? अलि मिलाएर लैजाऔँ । के भनेको त्यो । मिलाएर लैजाऔँ भनेको के र? रोक्ने आदेश गरेर । यस्तो स्वेच्छाचारिता मनपरी नगर्नुस् । मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु । के गर्नुहुन्छ थाहा छैन । रेडक्रस चल्न नदिने कस्तो सरकार हो र? उद्दण्डताको पनि हद हुन्छ । गैरआवासीय नेपालीहरूले आफ्नो संस्था बनाए त्यसमा हस्तक्षेप गर्ने । अधिवेशनमा कार्यकर्ता लगाएर कुर्सी तोडफोड, अनेक प्रकारका हुलदंगा । कस्तो सरकार बन्यो हेर्दाहेर्दै नेपालमा ? डेमोक्रेसी भनिन्छ, प्रणाली डेमोक्रेसी, प्रणाली नै मास्यो त यहाँ । चुनाव हुन नपाउने, उनीहरुले नै जित्नुपर्ने, उनीहरूकै कब्जा हुनुपर्ने के हो डेमोक्रेसी र प्रणाली भनेको । यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो सरकार भनेको कानुनअनुसार चल्ने मूल्य, मान्यताअनुसार चल्ने सरकार होइन । गैरकानूनी बेथितिसँग चल्ने सरकार हो ।’
