अफगानिस्तानविरुद्ध युएई ११ रनले विजयी
काठमाडौं । अफगानिस्तानविरुद्धको तीन खेलको टी-२०-आई सिरिजको दोस्रो खेलमा युएई ११ रनले विजयी भएको छ।
सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा १६७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान एक बल बाँकी छँदै अलआउट भएर १५५ रनमै समेटियो। उसका लागि मोहम्मद नाबीले सर्वाधिक ४७ रन बनाए। हजरतुल्लाह जजाइ ३६, रहमनुल्लाह गुरबाज २१, क्वाइस अहमद १८, नजिबुल्लाह जरदानले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
युएईका मोहम्मद जवादुल्लाह र अली नसीरले समान चार-चार विकेट लिँदा जुदैन सिद्दीकी र अकिफ राजाले एक-एक विकेट हात पारे।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनायो। उसका लागि आर्यन लाक्रा र मोह्ममद वसीमले क्रमशः ६३ र ५३ रनको अर्धशतकीय पारी खेले। अफिक राजाले १३ र तानिस सर्लले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
अफगानिस्तानका क्वाइस अहमद र अजमतुल्लाह ओमरजाइले समान दुई-दुई विकेट लिँदा मोहम्मद नाबी र फजल्लाक फारुकीले समान एक-एक विकेट लिए। सिरजिको पहिलो खेलमा अफगानिस्तानले युएईलाई ७२ रनले पराजित गरेको थियो। योसँगै सिरिज १-१ को अवस्थामा छ। तेस्रो तथा अन्तिम टी२० आई बुधबार हुनेछ।
