एमाले गृहमन्त्रीको कुरा सुन्न राजी, समिति गठन नगरिएमा पुनः अवरोध गर्ने

काठमाडौं । संसदमा नेकपा एमाले सुन तस्करीसम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कुरा सुन्न तयार भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै यही साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको एमाले आज मङ्गलबार भने गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । एमालेले उच्चस्तरीय समिति गठनको अडान छाडेको छैन भने प्रधानमन्त्री प्रचण्डले यो विषयको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिइसकेकाले अब अर्को समिति बनाउन नसकिने बताएको थियो । दुवै पक्ष आ–आफ्नै अडानमा रहेपछि बैठकबाट कुनै खास निष्कर्ष निस्किएन । तर एमालेले सरकारको जवाफसमेत नसुनी संसद् अवरुद्ध गरिरहेको आरोपबाट बच्न गृहमन्त्री नारायणकजी श्रेष्ठको जवाफ भने सुन्न तयार भएको हो ।

गृहमन्त्रीको जवाफमा उच्चस्तरीय समिति बनाउने विषय नआएमा पुनः संसद् अवरुद्ध गर्ने निष्कर्षमा पुगिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । अहिले बाढी, पहिरोलगायतका विषयमा सांसदहरूले सरकारलाई ध्यानाकर्षण पनि गराउनुपर्ने भएको भन्दै एमालेले आजको संसद् बैठकमा आकस्मिक, शून्य र विशेष समय चलाउन दिन तयार भएको उनले बताए । प्रतिनिधि सभाको बैठक अहिले ३ बजे बस्ने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर