उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका
काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा बेपत्ता भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्।
हेलिकप्टर बेपत्ता भएको जानकारी पाएलगत्तै जिल्ला प्रशासनले खोजी अभियान सुरु गरेको थियो। हेलिकप्टर पत्ता लगाउन अन्य दुई हेलिकप्टरसमेत परिचालन गरिएको थियो। दुर्घटनास्थलमा उद्धार तथा राहतका लागि प्रहरी, राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ), सेना र भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) का टोली खटाइएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले चाई गाउँ नजिकै हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको भन्दै जिल्ला प्रशासन, विपद् व्यवस्थापन विभाग र एसडीआरएफको संयुक्त टोली उद्धारमा खटिएको बताएका छन्। उनले घटनाको अवस्थाबारे आफूले नजिकबाट निगरानी गरिरहेको पनि बताएका छन्। यसैबीच उत्तराखण्डका विभिन्न क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ। बिहीबारदेखि लगातार हिमपात भएपछि केदारनाथ धाममा यस सिजनकै पहिलो भारी हिमपात भएको छ। मौसम विभागका अनुसार आगामी केही दिन विशेषगरी पहाडी जिल्लामा वर्षा जारी रहने सम्भावना छ। (तस्बिरः सांकेतिक)
