अटो दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाडौं ।  पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५, श्रीपुरस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । बुधबार दिउँसो ब्रेक फेल भएर अनियन्त्रित भएको अटो दुर्घटनामा बकैया गाउँपालिका –५, भनौरा बस्ने ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो दुर्घटनामा परेको हो । दुर्घटनामा माझीकी ४० वर्षीया श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ बस्ने आठ वर्षीय सन्देशकुमार मुक्तान घाइते भएका छन् ।

दुर्घटनामा टाउको, अनुहार तथा हातखुट्टामा चोट लागेका सन्तबहादुरलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको थियो । थप उपचारका लागि चितवनको भरतपुर लैजाने क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई हेटौँडा अस्पताल ल्याइएको थियो ।

अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते शान्तिमाया माझीको हातखुट्टामा चोट लागेको छ । सन्देशकुमार मुक्तान सामान्य घाइते भएका छन् । दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अटोचालक बकैया गाउँपालिका–४ बस्ने ५१ वर्षीय रामकाजी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएको टोलीले अटो नियन्त्रणमा लिइ प्रहरी पोस्टमा ल्याएको थियो । मृतकको शव पोस्टमार्टमपछि आफन्तले बुझिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर