ओमानसँग भिड्दै नेपाल, ओडीआई मान्यता जोगाउन जित्नैपर्ने दबाब
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
लिग–२ को शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य चुनौती बनेको छ । त्यसैले नेपालका लागि ओमानविरुद्धको आजको खेल निकै महत्वपूर्ण मानिएको छ ।
आइतबार क्यानडालाई पराजित गर्दै नेपालले ओडीआई मान्यता जोगाउने सम्भावना जीवित राखेको थियो । अब बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्नुपर्ने दबाब नेपाली टोलीमाथि छ ।
नेपालले ओमान र क्यानडासँग दुई–दुई गरी चार खेल खेल्न बाँकी छ । यी चार खेलमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालले शीर्ष ६ भित्र रहँदै ओडीआई मान्यता जोगाउने सम्भावना बलियो बनाउन सक्छ ।
लिग–२ मा आठ टोली सहभागी छन् । हालसम्मको अंकतालिकाअनुसार नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा छ । ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित नेपालको नजिक छ ।
त्यस्तै, नामिबियाले ३५ खेलबाट ३१ अंक जोडेको छ भने यूएई ३२ खेलबाट १९ अंकसहित अंकतालिकाको अन्तिम स्थानमा छ ।
नेपालले आज ओमानसँग खेलेपछि आगामी शनिबार क्यानडासँग पुनः प्रतिस्पर्धा गर्नेछ । त्यसपछि कात्तिक २ गते ओमानसँग अर्को खेल खेल्ने तालिका छ ।
बाँकी खेलमा जित निकाल्न सके नेपालको ओडीआई मान्यता जोगाउने सम्भावना कायम रहनेछ । त्यसैले ओमानविरुद्धको आजको खेल नेपालका लागि अंक जोड्ने अवसरसँगै आफ्नो एकदिवसीय भविष्य सुरक्षित गर्ने अभियानको महत्वपूर्ण परीक्षा पनि हुनेछ ।
