अबको १० दिनभित्र काठमाडौंमा मेलम्चीको पानी आउने

काठमाडौं । काठमाडौं उपत्यकावासीले मेलम्ची खानेपानी आयोजनाको पानी चाँडोभन्दा चाँडो वितरण गर्न माग गरेका छन् । चाडपर्वको समयमा पानीको माग अत्यधिक हुने भएकाले तत्काल पानी छोड्नुपर्ने काठमाडौंवासीको माग छ । पानीको वितरण ढिलो हुँदा पानी आपूर्ति असहज भएको छ । पोहोर साल वर्षापछि असोजको २० गतेदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो ।

बर्खायाम सुरु भएसँगै बाढीपहिरोको जोखिमका कारण बन्द गरिएको मेलम्चीको पानी वितरण अहिलेसम्म पनि सुरु नहुँदा काठमाडौँ उपत्यकावासी ट्याङ्कर र जारको महँगो पानी किनेर गर्जो टार्न बाध्य छन् । हप्ताको एक/दुई दिन धाप ड्यामको पानी वितरण गरिए पनि सो पानी सबै ठाउँमा पुग्न सकेको छैन । जसले गर्दा उपत्यकामा  खानेपानीको अभाव छ । आमउपभोक्ता मारमा परिरहेका छन् ।

चाडपर्वमा घरआँगन सरसफाइ गर्ने, टाढा टाढाबाट पाहुना आउने र विविध धार्मिक एवं सांस्कृतिक कार्य हुने भएकाले पानीको खपत सामान्य दिनभन्दा दोब्बर हुन्छ तर यतिबेला काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को नियमित आपूर्ति अत्यन्तै कमजोर रहेको उपभोक्ताको गुनासो छ ।

मेलम्ची खानेपानी सङ्घर्ष समिति, काठमाडौंका संयोजक गोविन्द पन्तले अन्य समयभन्दा चाडपर्वका बेला पानीको माग अत्यधिक हुने भएकाले मेलम्चीको पानी वितरण यथाशक्य छिटो गर्नुपर्ने बताउनुभयो ।

सङ्घर्ष समितिका प्रतिनिधिमण्डलसँगको भेटमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले अबको १० दिनभित्र मेलम्चीको पानी वितरण सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । १० दिनभित्र पानी वितरण सुरु नभए आफूहरूले सङ्घर्षमा जाने चेतावनीसमेत दिएको संयोजक पन्तले जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी मधु तिमिल्सिनाले यस वर्ष अहिलेसम्म बर्खा नरोकिएकाले मेलम्ची खोलाको पानी बहाबमा कमी आउन नसकेको तथा आयोजनाको मुहानसम्म पुग्ने बाटोसमेत बाढीका कारण क्षतिग्रस्त भइसकेको हुनाले एक्साभेटरलगायतका उपकरण लिएर मुहान (हेडवर्क्स) सम्म पुग्ने अवस्था नरहेकाले पानी वितरणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको मुहानसम्म पुग्ने बाटो अहिले स्थानीय तहले पुनर्निर्माण गरिरहेका छन् । खोलाको बहाब कम र पहुँचमार्ग निर्माण भएसँगै सुरुङमा पानी पथान्तरण गरिने छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर