आज र भोलि उपत्यकामा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य अघि बढाएको छ । विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउने गरी यस्तो काम सुरु भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस अन्तर्गत पुरानो तार (कन्डक्टर) हटाएर उच्च क्षमताको नयाँ तार जडान हुने छ । जसले गर्दा असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ–स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ कन्डक्टर जडान गरिरहेको छ । यसका कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अहिले कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागिएको हो । डबल सर्किट लाइनको एउटा सर्किटको करिब चार सय मिटर कन्डक्टर बदल्न बाँकी रहेको पनि प्राधिकरणले जनाएको छ । उक्त कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने उल्लेख गरिएको छ ।
