बागमती, गण्डकी र कर्णालीको पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक/दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको हो ।
महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ । हिमाली भू-भागको थोरै स्थानमा र पहाडी क्षेत्रको केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा तथा मधेसलगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यमवर्षाको सम्भावना छ । विभागले राति कोशी प्रदेश सबै भू-भाग तथा देशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
तराई भू-भागमा हुस्सु र कुहिरो पनि लाग्ने सम्भावना छ । हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
