पदीय हैसियतको दुरुपयोग गरी संवेदनशील सूचना चुहाउनेमाथि कारवाही : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका सुरक्षा निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाए कडा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत आज मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले सरकारी जिम्मेवारीमा रहेका व्यक्तिले गोपनीयताको सीमा उल्लंघन गर्ने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्। उनले राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पारेका छन्।
‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन’ भन्दै गुरुङले प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने उल्लेख गरेका छन्।
उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने बताएका छन्। त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने उनको चेतावनी छ।
गृहमन्त्रीको यो धारणा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल संवेदनशील सुरक्षा सूचना चुहावट तथा पदीय आचरणविपरीत काम गरेको आरोपमा निलम्बित भएको भोलिपल्ट आएको हो। गृह मन्त्रालयका अनुसार दाहालमाथि लागेको आरोपबारे छानबिनका लागि जाँचबुझ अधिकृत तोकिएको छ र तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।
दाहाललाई निलम्बन गर्ने निर्णयअघि सशस्त्र प्रहरी बलले उनीमाथि कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो। मन्त्रालयले भने उनले कस्तो संवेदनशील सूचना चुहावट गरेको भन्ने विषय छानबिनबाट स्पष्ट हुने जनाएको छ।
यसैबीच, गृहमन्त्री गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा हुने गोप्य सूचना चुहावट, पदीय आचरणविपरीतका गतिविधि तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि निगरानी र विश्लेषण भइरहेको बताएका छन्। उनको सन्देश स्पष्ट छ: राज्यको गोप्य सूचना चुहाउने कार्यमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइनेछ।
