असोज १७ देखि भीषण वर्षा हुने ‘भ्रामक हल्ला’
काठमाडौं । पर्सि असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ ।
विभागले त्यस्तो कुनै पूर्वानुमान नगरेको जनाउँदै आधिकारिक मौसम सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ । मौसमविद् सुदर्शन हुमागाईका अनुसार हाल देशमा भीषण वर्षा गराउने खालको कुनै मौसमी प्रणाली छैन । आगामी दिनमा अपरान्ह तथा साँझतिर कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भूभागमा हल्का तथा कतै–कतै मध्यम वर्षा हुन सक्ने सम्भावना रहे पनि ठुलो वर्षाको अवस्था नरहेको उहाँले बताउनुभयो ।
“ठुलो पानी पर्ने, भीषण पानी पर्ने त्यस्तो मौसम प्रणाली देशमा छैन” उहाँले भन्नुभयो, “अपरान्ह, साँझतिर कतै–कतै बादल लाग्ने र पानी पर्न सक्ने सम्भावना भने छ ।” विभागले असोज १३ गते जारी गरेको सूचनामा पनि असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुनेसम्बन्धी कुनै पूर्वानुमान नगरिएको र हालको मौसमी गतिविधिमा खासै फेरबदल नदेखिएको जनाएको थियो ।
सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिएका त्यस्ता भ्रामक सूचनाको पछि नलाग्न विभागले आग्रह गरेको छ । हुमागाईका अनुसार काठमाडौँ उपत्यकामा पनि आगामी दिनमा अपरान्ह तथा साँझतिर बादल लाग्ने र केही स्थानमा क्षणिक हल्का वर्षा हुन सक्छ । तर उपत्यकामा ठुलो वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
“काठमाडौँ उपत्यकाको सबै ठाउँमा होइन, कुनै–कुनै ठाउँमा क्षणिक हल्का वर्षा हुन सक्ने हो” उहाँले भन्नुभयो । हालको अवस्थाले पछिल्लो समय देखिएजस्तो ठुलो वर्षा, बाढी तथा पहिरोको जोखिम नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । यद्यपि स्थानीय रूपमा वर्षा हुनसक्ने भएकाले मौसमको अद्यावधिक सूचना हेर्न उहाँले सुझाव दिनुभयो ।
मौसम पूर्वानुमानमा तीन दिनसम्मको पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुने भए पनि त्यसपछि मौसममा परिवर्तन आउन सक्ने हुमागाईले बताउनुभयो । उहाँका अनुसार विभागले दैनिक दुई पटक मौसम पूर्वानुमान अद्यावधिक गर्छ ।
यसैबिच, आज विभागको वेबसाइटमा उपलब्ध विवरणअनुसार देशको विभिन्न स्थानको मौसम अवस्थाबारे नियमित पूर्वानुमान तथा चेतावनी अद्यावधिक भइरहेको छ । विभागले मौसम तथा बाढीसम्बन्धी आधिकारिक जानकारीका लागि आफ्नो वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट सूचना लिन आग्रह गरेको छ ।
