क्षणिक तासमा रमाउँदा जीवन नै समाप्त !
काठमाडौं । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरीको गस्ती टोली पुगेपछि भएको भागाभागका क्रममा पक्राउ परेका एक व्यक्तिको मृत्यु भएको छ । घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति करिब साढे ११ बजे तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोली पुगेको थियो । प्रहरी पुगेपछि त्यहाँ रहेका व्यक्तिहरू भाग्न थालेका थिए । सो क्रममा पक्राउ परेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार स्वास्थ्य जाँच गर्दा सुरुमा उनको अवस्था सामान्य देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घटनास्थलबाट कोइरालासहित आठ जनालाई नियन्त्रणमा लिइएको थियो । कोइरालासहित सात जनालाई हिरासतमा राखिएको थियो भने भाग्ने क्रममा दुई तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको थियो । आज मंगलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका कोइरालालाई अन्य व्यक्तिहरूले अचेत अवस्थामा फेला पारेपछि प्रहरीले उपचारका लागि कोशी अस्पताल पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
नोबेल शिक्षण अस्पतालका चिकित्सकले आज मंगलबार करिब ११ बजे कोइरालालाई मृत घोषणा गरेका हुन् । उनको शव हाल नोबेल अस्पतालमै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको थियो । उनको मृत्युको यकिन कारण भने खुल्न बाँकी रहेको डीएसपी मिश्रले बताए । यसैगरी, दुई तलाबाट हामफालेका मुखियाको दाहिने खुट्टा भाँचिएको छ । उनको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुखिया एम्बुलेन्स चालक रहेको बताइएको छ ।
प्रहरीले पासवानको घरबाट कोइराला र मुखियासहित धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले ४८ हजार ३९५ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
