६ दिनभित्र कोरोला नाका पुग्ने सडक सञ्चालनमा ल्याइने
काठमाडौं । छिमेकी चीनको तिब्बत कोरोला नाका जाने कालीगण्डकी कोरिडोर (मालढुङ्गा–बेनी–जोमसोम–कोरला) सडकको विभिन्न खण्डमा पहिरो, सडक कटान तथा पुलको एप्रोच सडक बगाउँदा सडक अवरुद्ध भएको छ ।
एनएच–४८अन्तर्गतको कालीगण्डकी कोरिडोर सडक योजनाका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएको हो । लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगङ्गा पुल, बैसरी–१, २ र ३, बेगखोला, महभीर, नैनीबगर, जलथले, सुकेबगर, दाना र लाटोखोलालगायत स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
यस्तै, पोखरेबगर पुलको बायाँतर्फको एप्रोच सडक बगाएको छ । तातोपानी कुण्ड, नार्च्याङ र खामभित्तालगायत स्थानमा नदीको उच्च बहावका कारण सडक कटान हुँदा यातायात अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन सडक विभाग तथा मातहतका निकायले तीव्र गतिमा काम गरिरहेका छन् । केही स्थानमा सडक सञ्चालनमा आइसकेको र आगामी दिनमा वर्षा रोकिएर काममा अवरोध नभएमा तीनदेखि ६ दिनभित्र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने जानकारी सडक विभागबाट प्राप्त भएको छ ।
कोरला नाकाबाट सामान आयात–निर्यात गर्ने कार्यमा सडक अवरोधका कारण तत्काल समस्या भए पनि सडक विभाग तथा मातहतका निकायको निरन्तर प्रयासबाट सडक छिट्टै सञ्चालनमा आउने विश्वास गरिएको छ ।
