पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई परिवारको जिम्मामा छाडियो
काठमाडौं । सुरक्षा जोखिम देखिएपछि निवासबाट अपराध अनुसन्धान कार्यालय लगिनुभएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले महाराजगञ्जस्थित निवासबाट आइतबार बिहान जबरालाई कार्यालयमा ल्याएको थियो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार जबराको सुरक्षामा जोखिम देखिएपछि तत्काल सुरक्षित स्थानमा लैजानुपर्ने अवस्था आएको थियो ।
एसएसपी खड्काले जबरालाई उहाँले भनेकै स्थानमा सुरक्षित रूपमा पठाइएको जानकारी दिनुभयो । “उहाँलाई सुरक्षित स्थानमा, उहाँले भनेकै स्थानमा यहाँबाट पठाइएको छ”, उहाँले भन्नुभयो । सुरक्षाको कारण देखाउँदै प्रहरीले जबरालाई कहाँ लगिएको हो भन्ने स्थान भने सार्वजनिक गरेको छैन ।
जबरालाई कार्यालयमा ल्याइएको जानकारी पाएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली उहाँलाई भेट्न टेकु पुगेको थियो । तर प्रहरीले सुरक्षा संवेदनशीलता देखाउँदै भेट्न अनुमति नदिएपछि आयोगको टोली करिब ४५ मिनेट गेटमै बसेर फर्किएको थियो । प्रहरीले भने अहिलेको घटनालाई कुनै अभियोग वा अनुसन्धानसँग जोडेर नभई सुरक्षा व्यवस्थापनका रूपमा मात्र रहेको स्पष्ट पारेको छ ।
