देशभर बाढीपहिरोबाट १२ जनाको मृत्यु
काठमाडौं । बाढी र पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो।
असोज ८ देखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनका अनुसार ७ जना सम्पर्कविहीन रहेका छन्। पाल्पामा एक जना, बागलुङमा चार र म्याग्दीमा दुई जना गरी बेपत्ता हुनेको संख्या ७ पुगेको हो ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उनको भनाइ छ। जोखिमका आधारमा रेड र यलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको उनले बताइन् ।
विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको उनको भनाइ छ। जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान भइरहेको उनले बताइन् ।
