नारायणीको बाढी पस्दा सुस्ताका अधिकांश घर डुबानमा

काठमाडौं । नारायणी नदीमा आएको बाढी बस्तीमा पस्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा रहेका कुल ३११ घरधुरीमध्ये अधिकांश घरहरू डुबानमा परेका छन् ।

स्थानीय मुन्सी हरिजनका अनुसार बाढीको प्रभाव सबैभन्दा बढी थारु टोलबाट सुरु भई सैनिक टोल, पहाडिया टोल हुँदै बड्का टोलसम्म फैलिएको छ । थारु टोलमा मात्रै १० देखि ११ वटा घरहरू ढलिसकेका छन् भने बड्का टोलका कच्ची घरहरू र रूखहरू ढल्ने क्रम जारी छ । सुस्ता बस्ती नै जलमग्न बनेको छ ।

डुबानमा विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी तथा सशस्त्र प्रहरी बल (एपीएफ)को बीओपी समेत जलमग्न भएको छ । नारायणीको भेग र कटानका कारण तटबन्धको माटो बगेर कमजोर बनेकाले बाँध नै फुट्ने  जोखिम सिर्जना भएको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालका अनुसार जोखिममा परेका सबै सुस्तावासीलाई सकभर सुस्ता वारी ल्याएर सुरक्षित आश्रयस्थलहरूमा राख्नका लागि सुरक्षा निकाय पूर्ण रूपमा तयार भई खटिएका छन् ।

उहाँका अनुसार सुस्तावासीलाई सुरक्षित रूपमा उद्धार गरी वारि ल्याउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोली सुस्ता पुगिसकेको छ। उद्धार टोलीले निरन्तर रूपमा प्रभावित क्षेत्रमा पुगेर नागरिकहरूलाई सुरक्षित स्थानमा ल्याउने कार्य गरिरहेको छ।

“हामीले सबै सुस्तावासी नागरिकहरूलाई सुस्ता वारीका सुरक्षित स्थाका विद्यालयहरूमा स्थानान्तरण गर्ने प्रयास गरिरहेका छौँ । तर अधिकांश सुस्तावासी आफ्नो घरगाउँ छाडेर वारि आउन नमान्दा समस्या उत्पन्न भएको छ,” प्रमुख जिल्ला अधिकारी नेपालले भन्नुभयो ।

स्थानीय प्रशासनले झोलुङ्गे पुल र डुंगाको माध्यमबाट नागरिकहरूलाई सुरक्षित स्थानमा लगिरहेको जनाएको छ । हाल प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएर थप जोखिममा रहेका परिवारको उद्धार गरिरहेको छ ।

जोखिममा परेका ७५ घरपरिवारलाई उद्धार गरी सुस्तास्थित होल्डिङ सेन्टरमा लगिएको छ भने हाल त्यहाँ करिब चार सय जनाले आश्रय लिइरहेका छन् । सैनिक टोलका बाँकी बासिन्दाहरू पक्की घर र बड्का टोलतिर आश्रय लिएर बसेका छन् ।

भारी वर्षाले सर्लाहीका १० पालिकामा विद्युत अवरुद्ध

सर्लाहीमा शनिबार मध्यरातिदेखि अविरल वर्षा भएकाले सदरमुकाम मलङ्गवासहित विभिन्न भू–भाग जलमग्न बनेको छ ।

भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । सदरमुकाम मलङ्गवाका अधिकांश क्षेत्रमा वर्षात्को पानी जमेर जलमग्न भएको स्थानीय वासिन्दा शिवचन्द्र चौधरीले जानकारी दिनुभयो ।

मलङ्गवास्थित नेपाल विद्युत प्राधिकरणको सवस्टेशन डुबानमा पर्दा सदरमुकामसहित जिल्लाको दक्षिणी भेगका १० भन्दा बढी पालिकामा आइतबार बिहानैदेखि विद्युत अवरुद्ध बनेको छ । भारी वर्षापछि जिल्लाको पूर्वी भेगस्थित हरिपूर्वासहितको क्षेत्रमा घरहरूमा पानी पसेको स्थानीय मुकेश झाले जानकारी दिनुभयो ।

निरन्तर पानी परिरहँदा बागमती, लखन्देहीलगायतका खोलामा बाढी बढेको छ । लालबन्दी नगरपालिका–१४, नारायणखोलाका शिक्षक कर्ण घिसिङले आइतबार बिहानदेखि लखन्देहीमा बाढी बढिरहेको उहाँले जानकारी दिनुभयो ।

ठुलो पानी पर्दा कच्ची घरहरू भत्कन थालेका छन् । अविरल वर्षापछि चन्द्रनगर गाउँपालिका–१, किसनपुरमा आइतबार बिहान रोहित पासवानको घर भत्किएपछि तत्कालै त्रिपालसहितका राहत सामग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।

वर्षाले पाक्न लागेको धान बाली, तरकारीलगायतका बालीमा क्षति गरेपछि किसान चिन्तित बनेका छन् । लालबन्दी नगरपालिका–१५, रुन्चे बजारका विवेक बम्जनले शनिबार मध्यरातिदेखि भारी वर्षाका कारण पाक्न लागेको धान बालीमा व्यापक क्षति पुगेको बताउनुभयो ।

निरन्तर वर्षा भइरहेकाले बागमती नदीसहितका खोलाहरूमा बाढी बढ्ने र डुबानको समस्या आइपर्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार सर्लाहीमा बुधबार साँझदेखि शुक्रबार रातिसम्म निरन्तर झरी परेर शनिबार दिनभर मौसम सफा भएको थियो ।

शनिबार मध्यरातिदेखि पुनः भारी वर्षा सुरु भएपछि जनजीवन कष्टकर बनेको छ । आइतबार मध्यान्हसम्म निरन्तर ठुलो पानी परिरहेकाले अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु प्रभावित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर