बाढीले अरनिको र वीपी राजमार्ग ठप्प, बुटवलमा तिनाउले पाँच घर बगायो
काठमाडौं । अरनिको राजमार्ग पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित अरनिको राजमार्ग सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटोसहितको पहिरो खसेको डीएसपी रबिन बिष्टले जानकारी दिए ।
पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भई उक्त सडक खण्डमा सवारीसाधन आवागमन रोकिएको छ । पहिरो पन्छाएर सडक खुलाउने कार्यका लागि सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको डिएसपी बिष्टले बताए ।
यता बीपी राजमार्गमा पनि पूर्ण रूपमा बन्द भएको छ । बीपी राजमार्गमा ६ स्थानमा रोशी खोलाले कटान गरेपछि राजमार्गमा बन्द रहेको ट्राफिक प्रहरी सहायक निरीक्षक महेश्वर अधिकारीले जानकारी दिए । वर्षाको कारण अहिले कुनै पनि काम अगाडि बढ्न नसकेको अधिकारीले बताए ।
तिनाउ नदीको बाढीले बुटवलमा ५ घर बगायो
लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रमा पाँच घर बगाएको छ। नदीको जलसतह सतर्कता तह पार गरेपछि जोखिमयुक्त क्षेत्रका करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।
राति करिब १२:४५ बजे आएको बाढीले सकिल मिया, नरेन्द्र दर्जी, अब्दुल अली, गफारदिन मिया र दुर्गादिन बनियाको घर बगाएको हो। बाढीले दुईवटा खाली घडेरीसमेत कटान गरेको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको रोहवरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब ९ सय जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
लगातारको वर्षाका कारण मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह बढेको छ । जलाशयमा १५३० मिटरसम्म जल भण्डारण गर्न सक्ने क्षमता रहेकोमा अहिले ड्याममा पानीको सतह १५२६.११ मिटर पुगेको छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाए अनुसार पानीको सतह १५२७.०० मिटर पुगेपछि पहिलो चेतावनी स्वरूप साइरन बजाइनेछ जनाएको छ । सम्भावित खतरालाई ध्यानमा राखेर कुलेखानी प्रथम जलविद्युत् केन्द्रले सबैलाई उच्च सावधानी र सतर्कता अपनाउँदै सबैलाई सुरक्षित रहन अनुरोध गरिएको छ। (तस्बिरः फाइल)
