पृथ्वी राजमार्गको घाँसीकुवा र मौरीबासमा पहिरो
काठमाडौं । अविरल वर्षासँगै तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा र मौरीबास क्षेत्रमा पुनः पहिरो खसेपछि राजमार्गको आवागमन प्रभावित भएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा शुक्रबार साँझ पहिरोसहित हिलो र लेदो खसेर सडकको दुवैतर्फको आवागमन अवरुद्ध भएकोमा पुनः पहिरो खसेको हो । मौरीबासमा पनि थप पहिरो खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार घाँसीकुवामा माथिबाट हिलोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको हो । घटनामा मानवीय क्षति भने भएको छैन ।
“अविरल वर्षाका कारण माथिबाट हिलोसहितको लेदो आएर पृथ्वी राजमार्गको दुवैतर्फको बाटो अवरुद्ध भएको छ,” प्रनाउ घिमिरेले भन्नुभयो, “सडक खुलाउन प्रहरी टोली परिचालन गरिएको छ ।”
सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ । सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत मौरीबास क्षेत्रमा पनि थप पहिरो खसेको छ । लगातार वर्षा भइरहेकाले राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम बढेको प्रहरीले जनाएको छ । यसअघि मौरीबास, मादीपुल, घाँसीकुवा, मुसेखोला, छिर्कने, विमलनगर, डुम्रे आसपास, सानो डुम्रे तथा ऐनापहरा लगायतका क्षेत्रमा पहिरो खसेको वा पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गको महत्वपूर्ण सडकखण्डमा पहिरो खस्दा यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ । वर्षा नरोकिएकाले थप पहिरो खस्न सक्ने भएकाले यात्रुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । सडकको अवस्था बुझेर मात्र आवतजावत गर्न तथा जोखिमपूर्ण स्थानमा अनावश्यक रूपमा नरोकिन प्रहरीले अनुरोध गरेको छ ।
