बेनीघाट–आरुघाट–लार्के सडक अवरुद्ध

काठमाडौं । उत्तरी गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। बिहीबारदेखि परेको निरन्तर वर्षाका कारण धार्चे गाउँपालिका–३ का तातोपानी, दोभान र कालोभीरमा शुक्रबार बिहान ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो।

माथिबाट खसेको पहिरोका कारण तातोपानीदेखि जगतसम्मको सडकका विभिन्न स्थानमा अवरोध भएको अध्यक्ष गुरुङले बताउनुभयो। उहाँका अनुसार निरन्तरको वर्षा र सडक माथिबाट खसेका ठुला ढुङ्गाका कारण उत्तरी गोरखाका अधिकांश ग्रामीण सडकसमेत पूर्णरूपमा बन्द भएका छन्।

सडकमा ठुलो पहिरो खसेकाले उत्तरी गोरखा जाने सवारीसाधन तथा सर्वसाधारणलाई तीन दिनसम्म अनावश्यक आवतजावत नगर्न धार्चे गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ। विभिन्न स्थानमा गएको पहिरो हटाउन निरन्तर वर्षाका कारण जेसीबी पठाउनसमेत कठिन भएको गाउँपालिकाले जनाएको छ।

धार्चे गाउँपालिका–५ रेसेका स्थानीय युवा राज गोरखालीका अनुसार तातोपानी क्षेत्रमा ठुलो पहिरो खसेर सडक नै ढाकिएकाले वारपार गर्न कठिन भएको छ। दोभान खोलामा समेत सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको तथा अण्डाडाँडा, दोभानखोला र कालोभीरमा निरन्तर वर्षा र पहिरोका कारण सडक अवरुद्ध भएको उहाँले बताउनुभयो।

उत्तरी गोरखा पुग्ने मुख्य सडक भएकाले गाउँपालिकाले नागरिकको सहज यात्राका लागि तत्काल जेसीबी प्रयोग गरेर भए पनि सडक सञ्चालन गर्ने प्रयास गरिरहेको जनाएको छ। तर, उत्तरी गोरखाका दर्जनौँ सडकखण्डमा पहिरो गएको र प्रतिकूल मौसमका कारण सडक मर्मत गर्न कठिन भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो।

अण्डाडाँडामा बाढीले सडक नै बगाएको छ भने दोभान खोलामा समेत वारपार गर्न नसकिने गरी ठुलो बाढी आएको छ। मौसमसम्बन्धी बुलेटिनमा आइतबारसम्म वर्षा हुने पूर्वानुमान रहेकाले सडक अवरोध हटाउन कम्तीमा एक हप्ता लाग्नसक्ने गाउँपालिकाले जनाएको छ।

उत्तरी गोरखामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढिरहेका बेला सडक अवरुद्ध हुँदा स्थानीय होटल व्यवसायी तथा व्यापारीलाई समेत असर परेको छ। सडक बन्द हुँदा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित भएको जनाइएको छ।

उक्त सडकखण्ड विश्वप्रसिद्ध मनास्लु क्षेत्र र लार्केपास पुग्ने मुख्य मार्ग भएकाले सडक अवरुद्ध हुँदा पर्यटक आगमनमा समेत प्रभाव पर्ने गाउँपालिकाले जनाएको छ। वर्षा रोकिएपछि तत्काल सडक सञ्चालनमा ल्याउने प्रयास गरिने अध्यक्ष गुरुङले बताउनुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर