वीपी र पृथ्वी राजमार्ग राति समयमा बन्द गरिने
काठमाडौं । अविरल वर्षाका कारण बिहान केही स्थानमा पहिरो खसेर एकतर्फी सञ्चालन भएको धादिङको कृष्णभिर सडकखण्ड अहिले दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । बिहान खसेको पहिरो हटाएपछि सवारी आवत-जावत सामान्य बने पनि थप वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज बेलुका ८: ०० बजेदेखि भोलि बिहान ५: ०० बजेसम्म सो सडक खण्डमा सवारी सञ्चालन बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार अहिले कृष्णभिरमा दुवैतर्फ सवारीसाधन सञ्चालन भइरहेको छ । सडकको अवस्था निगरानी गर्न तथा वर्षाका कारण आउन सक्ने सम्भावित अवरोध तत्काल व्यवस्थापन गर्न प्राविधिक टोली, होल्डिङ सेन्टर, जेसीबीलगायतका उपकरण तथा प्रहरी टोली तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार भारी वर्षाका कारण सडकमा पुनः पहिरो खस्न सक्ने तथा सडकको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको हो । बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सडक बन्द गरेर सो अवधिमा सडकको अवस्था निरीक्षण तथा आवश्यक व्यवस्थापनको काम गरिने जनाइएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीका अनुसार बिहान कृष्णभिरलगायत केही स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग केही समय एकतर्फी भएको थियो । पहिरो पन्छाएपछि बिहानैदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
डिएसपी कार्कीका अनुसार अहिले कृष्णभिरमा सवारीसाधनको आवत-जावत भइरहेको छ । यद्यपि, वर्षा निरन्तर भइरहेकाले राजमार्गको विभिन्न स्थानमा पहिरो तथा लेदो खस्न सक्ने सम्भावना रहेकाले सुरक्षा निकायले सडकको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण कृष्णभिरमा सडकको केही भाग क्षतिग्रस्त भएपछि पृथ्वी राजमार्गको उक्त खण्ड लामो समय अवरुद्ध भएको थियो । सडक भासिएपछि नयाँ ट्रयाक निर्माण गरी असोज १ गतेदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा आएको थियो ।
डिएसपी कार्कीले यात्राको क्रममा सडकको अवस्थालाई ध्यानमा राखी सुरक्षित यात्रा गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को १२३४ वा ०१०–५२१४६४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिनेछ ।
भारी वर्षाका कारण पृथ्वी राजमार्गका अन्य स्थानमा समेत पहिरो तथा सडक अवरोधको जोखिम रहेकाले सवारी चालकलाई सडकको तत्कालीन अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । विशेषगरी रातिको समयमा सडकको दृश्यता कम हुने तथा वर्षाका कारण पहिरोको जोखिम बढ्न सक्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवत–जावत रोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।
बिपी राजमार्गमा चार दिन राति सवारी रोक
सम्भावित भारी वर्षा तथा बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ। मनसुन प्रतिकार्य कमान्ड पोस्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि असोज १२ गते बिहान ५ बजेसम्म हरेक दिन बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार मौसम पूर्वानुमानमा असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म ठूलो वर्षाको सम्भावना रहेकाले सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।
वर्षा तथा बाढीको अवस्था मूल्यांकन गर्दा दिनको समयमा समेत सवारी सञ्चालन रोक्नुपर्ने अवस्था आए जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरिएको छ। निर्णय कार्यान्वयनमा सहजीकरणका लागि छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई समेत अनुरोध गर्ने निर्णय भएको छ।
त्यसैगरी, नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर सतर्क गराउने तथा स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरिएको छ। यसका लागि नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ।
विपद् उद्धारका लागि नेपाली सेनाको श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वार्टरका उद्धार टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय गरी उद्धार तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ।
प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन तथा अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।

