सदनमा किन रोइन् शहीदकी आमा एवं सांसद रचना खतिवडा ?

काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबार बसेको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा आफ्नो अभिव्यक्ति व्यक्त गर्ने क्रममा भावविह्वल भएर बलिन्द्रा आँशु झारेकी छन् ।

जेनजी आन्दोलनमा छोरा गुमाएकी सांसद खतिवडाले हालै केही राजनीतिककर्मीहरूले उनीमाथि गरिएको असान्दर्भिक टीकाटिप्पणीप्रति आफ्नो भावाभिव्यक्ति व्यक्त गर्ने क्रममा सांसद खतिवडा अशोभनीय र संवेदनाहीन प्रतिक्रियामाथि बोलिरहेकी बेला एक्कासि सदनमै रोएकी हुन् । जेनजी आन्दोलनमा छोरा गुमाएकीले रास्वपाले सम्मानस्वरूप उनलाई समानुपातिक सांसद बनाएको थियो । उनले सदनमा पटक–पटक आफ्नो सांसद पदलाई अवसरभन्दा न्याय खोज्ने माध्यमका रूपमा व्याख्या गर्दै आएकी थिइन् ।

तर उनलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भन्ने आरोपले पुत्र वियोग पीडामाथि थप चोट पुर्‍याएको उनले बताइन्। उनले भनिन्, ‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन्, उनीहरूसँग हाँस्न, खेल्न र भविष्य देख्न पाउनुहुन्छ। तर मेरो संसार उजाडिएको छ। मेरो काख रित्तिएको छ।’

उनले आफूमाथि संकीर्ण र तुच्छ आरोप लगाउनेहरूमाथि प्रश्न गर्दै भनिन्,  ‘यदि कसैले आफ्नो छोरालाई जीवित फर्काएर काखमा ल्याइदिने हो भने आफू तत्काल सांसद पद छाड्न तयार छु । सक्छ कसैले ?’ उनले भनिन्, ‘जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिच्किचाहट हुने छैन, प्रश्न पदको होइन, पीडामाथिको राजनीतिको हो।’

उनको टिप्पणी छ,  ‘राजनीतिमा प्रवेश गर्ने व्यक्तिको विगत, उद्देश्य र भूमिकामाथि प्रश्न उठाउन पाइन्छ ? कि पाइँदैन ? भन्ने विषय एकातिर छ, अर्कोतिर एउटी आमाले सन्तान गुमाएको पीडामाथि राजनीतिक आरोपको भाषा प्रयोग गर्नु कति उचित ? राजनीतिक बहसमा आलोचना स्वाभाविक हुन्छ। सांसद स्वयंले पनि सरकारसँग आफ्ना असन्तुष्टि र प्रश्न रहेको तर व्यक्तिगत आक्षेप र अपमानजनक टिप्पणीले आफ्नो मुटुको घाउ थप बल्झाएको र आमाको माया र ममतामाथि राजनीतिक प्रहार नगर्न म अनुरोध गर्दछु ।’

खतिवडाले आफू सामान्य नागरिकलाई उचालेर आपसमा भिडाउने, त्यसको बलमा नेता बन्ने वा ‘मेडिकल माफिया’ बन्ने उद्देश्यले राजनीतिमा नआएको पनि स्पष्ट पारिन्। ‘मेरो छोरो शहीद भयो, मैले अब मेरो छोरो जस्तो अरू छोरा मर्न नपरोस् भन्ने चाहना लिएर यहाँ आएकी हुँ’, उनले भनिन्।

उनले भनिन्, ‘आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्यायको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्छ। सरकारको भूमिका खोई ?’ ‘हाम्रा छोराहरूको रगत अझै सुकेको छैन’, उनले सरकारलाई सम्झाइन्, ‘न्यायको आभास हुने गरी काम गर्नुहोस्।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर