भोटेकोशी बाढी : एक हजार ४३६ शव फेला
काठमाडौं । भोटेकोशी हिमबाढी आएको झन्डै एक महिना हुन लाग्दा पनि मानवीय क्षतिको यकिन विवरण आउन सकेको छैन ।
बाढी प्रभावित विभिन्न जिल्लाबाट आइतबारसम्म एक हजार ४३६ जनाको शव फेला परेको छ भने पाँच हजार ८७५ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले बगाएका तथा क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङ अहिले पनि बेपत्ताको खोजीका मुख्य केन्द्र बनेका छन् । अप्पर त्रिशूली–१ को अडिट–३ सुरुङबाट मात्रै हालसम्म २४ शव फेला परेका छन् । थप खोजी गर्ने क्रममा सुरुङभित्र करिब दुई किलोमिटर भाग सफा गरी स्टिलको जाली काटेर अघि बढ्ने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरुङबाट शव हेलिकोप्टरमार्फत त्रिशूली ल्याइएको छ । अडिट–१ मा करिब दुई सय मिटरसम्म खोजी गर्दा हालसम्म केही फेला नपरेको जनाइएको छ । बाढीबाट प्रभावित त्रिशूली–थ्री ‘ए’, त्रिशूली–थ्री ‘बी’, रसुवागढीलगायत जलविद्युत् आयोजनाका सुरुङमा पनि खोजी जारी छ । त्रिशूली–थ्री ‘बी’ को अडिट–१ मा ४७६ मिटर र अडिट–२ मा करिब २.७ किलोमिटर सुरुङ सफा गरिएको छ । कठिन भूगोल, थुप्रिएको माटो तथा फलामे संरचनाका कारण सुरुङभित्रको खोजी चुनौतीपूर्ण बनेको सुरक्षाकर्मीले जनाएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासीपूर्वमा २३२ र नवलपरासीपश्चिममा २२२ जनाको शव फेला परेको छ । काठमाडौँमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ । फेला परेका शवमध्ये एक हजार २९२ जनाको आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । पहिचानका लागि मृतकबाट एक हजार २८६ र आफन्तबाट एक हजार ९९७ गरी तीन हजार २८३ डिएनए नमुना सङ्कलन गरिएको छ । पहिचान हुन बाँकी एक हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखेको जनाइएको छ । बेपत्ताको तथ्याङ्कमा भने प्रहरी र प्राधिकरणको विवरण फरक देखिएको छ । नेपाल प्रहरीले चार हजार ६५५ जना बेपत्ता रहेको जनाएको छ भने प्राधिकरणले पाँच हजार ८७५ जनाको नाम बेपत्ताको सूचीमा रहेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार संशोधित विवरणमा पहिचान नभएका शव, उद्धार भइसकेका व्यक्ति तथा दोहोरिएका विवरणसमेत हुन सक्ने भएकाले तथ्याङ्क प्रमाणीकरण भइरहेको छ । प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १३ हजार ७८४ जनाको उद्धार गरिएको र खोजी, उद्धार तथा राहत व्यवस्थापनका लागि २० हजार ९३५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
त्यसै गरी विभिन्न स्थानमा सञ्चालित २४ होल्डिङ सेन्टरमा एक हजार ३४२ जना आश्रित छन् भने विभिन्न स्वास्थ्य संस्थामा ३४४ जनाले उपचार गराइरहेका छन् । नेपाली सेनाले रसुवादेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व–पश्चिमसम्म आठ हजार सात सयभन्दा बढी सैनिक परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक तथा पुल सञ्चालन र स्वास्थ्यसेवामा सहयोग गरिरहेको जनाएको छ ।
सेनाको हवाईसाधनबाट हालसम्म चार हजार १९५ जनाको उद्धार गरिएको र त्रिशूली तथा धुन्चेमा सञ्चालन गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट तीन हजार ९९६ जनाले सेवा लिएको सेनाले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले पनि टिमुरेदेखि नवलपरासीसम्म सम्भावित प्रभावित क्षेत्रमा खोजी टोली परिचालन गरेको जनाएको छ । सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले पूर्ण रूपमा पुरिएका तथा मेसिन प्रयोग गर्नुपर्ने भग्नावशेषमा उपकरण प्रयोग गरी र अन्य क्षेत्रमा संरचना हटाउँदै खोजी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल खोज तथा उद्धारका लागि स्विफ्ट वाटर, हाई करेन्ट वाटर र कोल्याप्स स्ट्रक्चरल रेस्क्यु टोलीसमेत परिचालन गरी सम्भावित क्षेत्रमा खोजी कार्य जारी छ ।
उद्धारसँगै बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनलाई पनि तीव्रता दिइएको छ । गल्छी–देवीघाट–धुन्चे/त्रिशूली वैकल्पिक सडक सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । विदुर–वेत्रावती खण्डको १० किलोमिटरमध्ये ९.२ किलोमिटर सडक खुलाइएको छ । नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११७ वटा सञ्चालनमा रहेको जनाइएको छ । शव फेला पार्ने क्रमसँगै डिएनए परीक्षण, अभिलेख प्रमाणीकरण र उद्धार गरिएका व्यक्तिको विवरण मिलानलाई पनि समानान्तर रूपमा अघि बढाउने गरी आवश्यक प्रक्रिया बढाइएको प्रहरीले जनाएको छ ।
