कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

काठमाडौं ।  मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा एउटा न्यून चापीय प्रणाली बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।

हाल देशका विभिन्न भागको मौसममा बदली आएको छ। कोशी र बागमती प्रदेशका सबै भूभागका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहँदा मधेस प्रदेशमा आंशिक बदली भएको छ। यस्तै, कोशी र बागमती प्रदेशका थोरै स्थान र गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदलीसम्म हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्छ।

त्यसैगरी, मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर