नयाँ मन्त्री नियुक्तिसँगै बागमती सरकार पूर्णतातर्फ
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेकपाकी रमा आलेमगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्री आलेमगरको नियुक्तिसँगै बागमती सरकारले पूर्णता पाएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री किरण थापाको उपस्थितिमा मन्त्री आले मगरलाई आज हेटौंडामा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका थिए । मुख्यमन्त्री थापाले यसअघि नै मन्त्रालय विभाजन गरिसके पनि प्राविधिक कारणले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैं मातहतमा राखेका थिए । आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले पनि नेतृत्व पाएको छ ।
बागमती प्रदेशमा नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको सहभागितामा सरकार गठन भएको छ । हाल बागमती प्रदेश सरकारमा आठ वटा मन्त्रालय रहेका छन् ।
