बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।
यतिबेला मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीको तराईमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिमको तराईमा मौसम मुख्यतया सफा छ। अहिले गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णालीको हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
साथै देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभाग, बागमतीको तराई र गण्डकीको पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक-दुई स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान, लुम्बिनीका थोरै स्थान र कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
