मनसुनी वायुको प्रभाव : भारी वर्षाको सम्भावना कायमै
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । सबै प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।देशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
