सुरुङ र भग्नावशेषभित्र बेपत्ताको खोजी जारी
काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्य शुक्रबार पनि जारी रहेको छ। माथिल्लो त्रिशूली–१, त्रिशूली थ्री ‘बी’, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेना, उद्धार टोली तथा आयोजनाका प्राविधिकहरूले खोजी तथा उत्खननलाई निरन्तरता दिएका छन्।
माथिल्लो त्रिशूली–१ (९२१६ मेगावाट) आयोजनामा सुरुङ तथा हेडिक्स क्षेत्रमा हराइरहेकाहरूको खोजीका लागि आवश्यक कार्य शुक्रबार पनि जारी रह्यो। बिहीबार साँझ आयोजनाको सुरुङ क्षेत्रमा तालिमप्राप्त उद्धार कुकुरले संकेत गरेको स्थान पहिचान गरिएको थियो। शुक्रबार नेपाली सेना र कम्पनीका सर्वे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रमा अवलोकन गर्दा उक्त क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको पाइएको कम्पनीले जनाएको छ।
त्यसैगरी मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरमार्फत उत्खनन सुरु गरिएको छ। अडिट–३ क्षेत्रमा नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी गरेको छ। उक्त क्षेत्रमा शनिबारदेखि खोजी कार्यलाई थप तीव्रता दिने कम्पनीले जनाएको छ। बाढी आउनुअघि आयोजनास्थलमा कुल १ हजार ४३३ जना कार्यरत थिए। हालसम्म ८७८ जनाको उद्धार भइसकेको छ।
चिलिमे (२२ मेगावाट) जलविद्युत् केन्द्रको विद्युत् गृहमा फसेकाहरूको उद्धार कार्य बाढी आएको १७औँ दिन पनि जारी रह्यो। पहुँच सडक निर्माणको काम अझै पूरा नभएकाले उद्धार तथा उत्खननका लागि आवश्यक मेसिनरी उपकरण विद्युत् गृहको पहुँच सुरुङसम्म पुर्याउन सकिएको छैन।
त्रिशूली थ्री ‘बी’ (३७ मेगावाट) जलविद्युत् आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्य पनि शुक्रबार जारी रह्यो। आयोजना आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन गर्दा हालसम्म हराइरहेकाहरूको कुनै पत्तो लाग्न सकेको छैन। उत्खननका क्रममा बाढीले तीनवटा भवन जगसहित बगाएर लगेको पाइएको छ। अन्य भवन रहेको स्थानमा समेत उत्खनन गरी खोजी कार्यलाई निरन्तरता दिइएको छ। उक्त आयोजनाबाट १७८ जना अझै हराइरहेका छन्।
लाङटाङ खोला (२० मेगावाट) जलविद्युत् आयोजनामा पनि हराइरहेकाहरूको खोजी शुक्रबार जारी रह्यो। नेपाली सेनाको टोलीले आयोजनाको सुरुङ क्षेत्रमा खोजी गरिरहेको छ। सुरुङबाट दुई जनाको शव निकालिएको भए पनि अन्यको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन। आयोजनाबाट ३९ जना अझै सम्पर्कविहीन छन् भने १९ जनाको यसअघि नै उद्धार भइसकेको छ।
