उपल्लो मुस्ताङमा भूकम्पबाट घरहरूमा क्षति
काठमाडौं । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ। मङ्गलबार राति ९ः५३ बजे र बुधबार बिहान १ः०३ बजे भूकम्पको धक्का महसुस भएको थियो।
लोमन्थाङ आसपासका क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि गाउँपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सहितको टोली परिचालन गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार लोमन्थाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्र प्रमुख अधिकारीले भन्नुभयो, “भूकम्पको केन्द्रबिन्दुमा ठुलै धक्का महसुस भएको छ। भूकम्प गएको क्षेत्रमा साना–साना पराकम्प जान सक्छन्।”
करिब तीन दशकयता साविक धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो भूकम्पका रूपमा बागलुङको बोबाङलाई केन्द्रबिन्दु बनाएर गएको ४.९ रेक्टर स्केलको भूकम्पपछि पहिलोपटक मुस्ताङमा ५ रेक्टर स्केलभन्दा ठुलो भूकम्प मापन गरिएको हो। लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्वु गुरुङले भूकम्पबाट मानवीय क्षति नभए पनि घर चर्किएको र भत्किएको सूचना आएको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेसम्म भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण संकलन भएको छैन। घरहरू चर्किएको धेरै ठाउँबाट सूचना आएको छ।”
गाउँपालिकाभित्रका सबै पाँच वडाका जनप्रतिनिधिमार्फत विवरण संकलन भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो। उपल्लो मुस्ताङमा काँचो माटोबाट निर्मित घरहरू धेरै भएकाले भौतिक क्षतिको विवरण संकलनका लागि बस्तीमै पुगेर निरीक्षण गरिने उहाँले बताउनुभयो।
यता, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो। हालसम्म लोमन्थाङ–३, फुवामा प्रयोगविहीन एउटा घर भत्किएको र एक गुम्बाको पर्खालमा क्षति पुगेको विवरण प्राप्त भएको उहाँले जानकारी दिनुभयो। भूकम्पको धक्का महसुस भएपछि उपल्लो मुस्ताङको लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा, पर्यटक तथा कर्मचारी घरबाहिर निस्किएर रात बिताएका थिए। भूकम्पको धक्का छिमेकी जिल्ला म्याग्दी र पर्वत आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।
यसैबिच, भूकम्पविद् डा. शिव सुवेदीले उपल्लो मुस्ताङमा पाँच रेक्टर स्केलभन्दा माथिको भूकम्प गएपछि थप सतर्कता आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “एकपटक भूकम्प गएको क्षेत्रमा बारम्बार धक्का महसुस हुन सक्छ। त्रसित नभई सतर्क हुनुपर्छ।”
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो पराकम्पन नभई नयाँ भूकम्प भएको जनाएको छ। केन्द्रले चार रेक्टर स्केलभन्दा माथिका भूकम्पको मात्रै अभिलेख राख्ने गरेको छ।
साविक धौलागिरिका चार जिल्लामध्ये मुस्ताङ र पर्वतलाई केन्द्रबिन्दु बनाएर कम भूकम्प जाने गरे पनि म्याग्दी र बागलुङमा पटक–पटक चार रेक्टर स्केलभन्दा ठुला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ।
