राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। उनले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिएका हुन्।

राष्ट्रपति पौडेलले नुवाकोटमा भोटेकोशी बाढीको प्रभाव तथा त्यसबाट भएको क्षतिबारे जिल्ला सुरक्षा समितिबाट जानकारी लिए। सो क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी लगायत सुरक्षा समितिका सदस्यहरूले बाढीबाट जिल्लामा भएको जनधनको क्षतिको विवरण प्रस्तुत गरेका थिए। प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र तत्काल आवश्यक संरचना निर्माणका लागि भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराए।

राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो। त्यहाँ प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षति, आफूहरूले भोग्नुपरेका समस्या तथा तत्काल आवश्यक सहयोगबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। प्रभावित नागरिकहरूले खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकार तथा सहयोगी निकायले अझ तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर