चीनमा हालसम्म ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

काठमाडौं । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमामा पर्ने गिरोङ क्षेत्रमा गएको पहिरोपछि आएको विनाशकारी बाढीमा ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५३१ जना अझै बेपत्ता छन्।

स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रका अनुसार अगस्ट २६ मा हिमाली क्षेत्रमा बरफ–चट्टान पहिरो खसेपछि नदीमा आएको बाढीले गिरोङ क्षेत्रका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको हो। शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु पुष्टि भएको केन्द्रले जनाएको छ।उद्धारकर्मीहरूले घटनास्थलबाट ९८७ वटा व्यक्तिगत सामान फेला पारेका छन्। ती सामग्री बेपत्ताहरूको खोजी तथा पहिचान प्रक्रियामा महत्वपूर्ण हुन सक्ने अधिकारीहरूले बताएका छन्।

बाढी र पहिरोले गिरोङ बन्दरगाह, भवन, विद्युत् आपूर्ति प्रणाली तथा जी–२१६ राजमार्गको एक खण्डमा क्षति पुर्‍याएको छ। सडक तथा यातायात संरचनामा क्षति भएपछि उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्नसमेत कठिनाइ भएको थियो। यद्यपि, कठिन भौगोलिक अवस्थाका बीच चीनले हेलिकप्टर, स्पिडबोट र रबरका डुङ्गासहितका साधन प्रयोग गरी उद्धार अभियान अघि बढाएको छ। कतिपय स्थलगत उद्धार टोलीले १२ घण्टासम्म ठाडो पहाडी बाटो पैदल पार गरेर प्रभावित क्षेत्रमा पुगेर खोजी थालेका थिए।

उद्धार तथा राहत अभियानमा हालसम्म करिब २ हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन र ८ हजारभन्दा बढी व्यावसायिक उपकरण परिचालन गरिएको छ। त्यस्तै, ८०० भन्दा बढी ड्रोन उडान र २४ हेलिकप्टर उडानमार्फत खोजी तथा उद्धारलाई तीव्र पारिएको छ। यसैबीच, जी–२१६ उद्धार मार्गको निरीक्षणका क्रममा बुधबारसम्म ५८ वटा सम्भावित भूगर्भीय विपत्का स्थल पहिचान गरिएको छ। प्रभावित तीन गाउँमा जोखिम निरीक्षण तथा मूल्याङ्कन पूरा गरी दुई वटा अस्थायी आपत्कालीन आश्रयस्थल निर्माणका लागि स्थानसमेत छनोट गरिएको छ।

सम्भावित दोस्रो चरणका विपत् रोकथामका लागि मौसम, प्राकृतिक स्रोत, जलस्रोत तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी अधिकारीसँगै चाइनिज एकेडेमी अफ साइन्स र चाइना एकेडेमी अफ सेफ्टी साइन्स एन्ड टेक्नोलोजीका १७२ विज्ञ तथा प्राविधिक परिचालन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर