प्रतिनिधिसभामा नेता आङदेम्बेको प्रश्नको उत्तर आएन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाका नेता भीष्मराज आङदेम्बेले गृहमन्त्री आफैँ उद्धारमा खटिएको विषयमा गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले मन्त्रीको परिवार त्यसरी नै सुरुङमा फसेको भए गृहमन्त्री आफैँ खोस्रिन जानुहुन्थ्यो कि प्राविधिक र विज्ञहरूको टोली लिएर जानु हुन्थ्यो भन्दै प्रश्न गरे ।
“एकजनामन्त्रीजी विपद् प्रभावित क्षेत्रमा गएर आफैँ खोस्रिएको फोटोले सवत्र प्रशंसा भएको छ । मैले पनि फोटो जुम गरेर हेरेँ, पसिना पनि आएको थियो । फोटो मलाई पनि राम्रो लाग्यो”, आङदेम्बेले टिप्पणी गरे, “तर, के मन्त्रीजीहरूका परिवारका सदस्य सुरङभित्र फसेका भए मन्त्रीजी त्यसरी नै आफैँ खोस्रिन जानुहुन्थ्यो कि प्राविधिक र विज्ञसहित जानुहुन्थ्यो ?”
उनले सात दिनसम्म कसैलाई जान नदिएपछि सातौँ दिन आफैँ खोज भन्ने सरकारले गैरजिम्मेवार निर्णय गरेको आरोप लगाए । उनले सुरुङभित्र रहेका व्यक्तिहरूको मृत्यु कि हत्या भनी प्रश्न गरे । “यो असंवेदनशीलता र ढिलाइका कारण ती सुरुङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ? सभामुख महोदय ? ”, उनले भने ।
आङ्देम्बेले सरकारले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन भन्ने प्रश्न गरे । समयमा जोखिम भएको ठाउँमा पुग्न नसकेको आरोप लगाए । “संकटमा परेका नागरिकका आवाज सुन्ने कि दबाउने ?”, उनले सोधे ।
