उद्धार गरिएका पीडित सुरक्षित आश्रयस्थलमा : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीमा परेर ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको बताएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले भदौ १० गते आएको बाढीमा परेर ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको जानकारी पनि दिए। त्यसको साथै, उाले आजसम्म बाढीमा कारण जोखिममा परेका ११ हजार ९ सय ९३ जनाको सकुशल उद्धार गरिएको बताए ।
प्रधानमन्त्री शाहले बताएअनुसार सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गरी हालसम्म ६९ उडानमार्फत ३ सय ५१ जनाको उद्धार गरिएको हो। हवाई उद्धारमा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र शारीरिक अपांगता भएकाहरूलाई प्राथमिकतामा राखिएको छ। “उद्धारपछि विभिन्न अस्पताल पुर्याइएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना डिस्चार्ज भइसकेका छन् बाँकी घाइतेहरूको उपचार जारी छ”, उनले भने ।
विस्थापित भएकाहरूका लागि नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६ सय ५३ जनालाई गाँसबासको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले बताए। अन्य प्रभावित ३ हजार ५ सय जनालाई स्थानीय विद्यालय तथा सामुदायिक भवनहरूमा राखिएको पनि उनले जानकारी दिए। विपद्लगत्तै तटीय क्षेत्रमा सतर्कता अपनाउन ११ लाखभन्दा बढी मोबाइलमा एसएमएस र फोन कलमार्फत सूचना पठाइएको थियो। प्रभावित १५ वटा स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै सरकारले राहत र पुनर्स्थापनाका काम तीव्र बनाएको उनले बताएका छन्।
