उद्धारमा विदेशी सहयोग लिन ढिला नगरिएको प्रधानमन्त्री बालेन्द्रको प्रस्टोक्ति

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितको उद्धारमा विदेशी सहयोग लिन नभएको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ,’ शाहले भने, ‘मित्रराष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनुभएकै थियो। उहाँहरूले सुरूकै दिनदेखि (पहिलो दिन, दोस्रो दिन) पनि रेकी गरिराख्नुभाको थियो।’

‘त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर, अनुगमन गरेर अहिले तत्काल ओर्लिन सक्ने अवस्था छैन, तुरून्तै ओर्लिन सक्दैनौँ, जुन बेला ओर्लिन सकिनेछ त्यतिबेला नै भारतको अथवा चीनको टेक्निसियनहरू, नेपाली टेक्निसियन, आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नुभएको हो’, प्रधानमन्त्री शाहले भने, ‘यो चाहिँ विशेष अवस्था हो।’

‘हिलो-लेदोमा एक्साभेटर मात्रै नभएर आर्मी, सशस्त्र प्रहरीका व्यक्तिहरू पनि अडिने ठाउँ थिएन, त्यही भएर उहाँहरूले सम्भव भएसम्म सुतेर त्यहाँसम्म पुग्ने प्रयास गर्नुभएको थियो,’ प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा भने, ‘एक्साभेटरलाई अडिने ठाउँ, हेलिकप्टरलाई ल्यान्ड हुने ठाउँ भएपछि मात्रै त्यहाँनिर  उद्धार कार्यहरू सुरू गरिएको हो।’

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइरहेको सरकारले विपत्तिको सामना गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताए। प्रधानमन्त्री शाहले भोटेकोशीको बाढीबाट भएको क्षति कुनै एक जिल्ला वा क्षेत्रको मात्रै समस्या नभई सम्पूर्ण नेपालको साझा पीडा र राष्ट्रिय विपत्ति भएको बताएका हुन्।

प्रधानमन्त्री शाहले भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षणभरमै धेरै नेपालीका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई खोसेर लगेको स्मरण गर्दै विपत्तिले दिएको पीडा अत्यन्त गहिरो रहेको बताए। उनले रसुवा, नुवाकोट र धादिङमा भएको क्षतिले सिंगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै कठिन परिस्थितिमा सरकार नागरिकको साथमा रहेको स्पष्ट पारे।

‘यस्तो बेला शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन,’ प्रधानमन्त्री शाहले भने। साथै उनले सङ्कटको घडीमा राज्यको नेतृत्वले निराशा र पीडाबीच पनि जनतालाई हिम्मत, आडभरोसा र भरोसा दिनुपर्ने बताए। व्यक्तिगत थकानभन्दा नागरिकको जीवनरक्षा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सरकार उद्धार र राहतको कामबाट पछि नहट्ने बताए।

पछिल्लो विवरण अनुसार विपद्मा परी १ हजार १ सय १४ जनाको शव फेला परेको र ती मध्ये ९५ जनाको पहिचान गरी आफन्तलाई बुझाइएको प्रधानमन्त्री शाहले जानकारी दिए। साथै पहिचान हुन नसकेका बाँकी शवका सम्बन्धमा आवश्यक कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको पनि बताए।

प्रधानमन्त्रीले विपद्का विषयमा सरकारमाथि विभिन्न प्रश्न उठिरहेको स्वीकार गर्दै अहिलेको विपत्ति पूर्वानुमानभन्दा बाहिरको प्रकृतिको भएको बताए। यद्यपि विपत्तिको गम्भीरतालाई बहाना बनाएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको स्पष्ट धारणा थियो। उनले उद्धार, बेपत्ताको खोजी, शव पहिचान, राहत वितरण तथा पुनर्निर्माणका सबै कामलाई संवेदनशीलताका साथ अघि बढाइरहेको बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर