सुरुङमा फसेकाको सकुशल उद्धारको आशा सरकारले नछाडेको स्पष्टोक्ति

काठमाडौं ।  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले बाहिरी संसारसँगको सम्पर्क टुटाएको सुरुङभित्र अझै जीवनको सम्भावना खोजिँदै छ । बाढीले जमिन दलदलमा परिणत गरेको, सुरुङआसपासको भूभाग जोखिमपूर्ण बनेको र उद्धारका उपकरणसमेत फस्ने अवस्था रहे पनि सरकारले सुरुङमा फसेकाको सकुशल उद्धारको आशा नछाडेको जनाएको छ ।

सुरुङको माथिल्लो भागबाट ड्रिल तथा खनेर भित्र रहेका व्यक्तिसम्म पुग्न सकिन्छ कि भन्ने नयाँ विकल्पमा राज्यले काम गरिरहेको र सुरुङभित्र अक्सिजन तथा खाद्यान्न पुर्‍याउन सकिने सम्भावनासमेत खोजी भइरहेको गृहमन्त्री सुधन गुरुङले बताउनुभएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भन्नुभयो, “अझै पनि हामीले आशा मारेका छैनौँ । माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहीँको पानी खाएर बस्नुभएको छ कि भन्ने आशा अझै बाँकी छ ।”

उहाँले सुरुङभित्रको अवस्था पत्ता लगाउन विभिन्न प्रविधि प्रयोग भइरहेको जानकारी दिँदै कतिपय सुरुङमा ड्रोन पठाएर भित्री अवस्थाको अध्ययन भइरहेको पनि बताउनुभयो । सुरुङभित्र फसेकाको उद्धारका लागि माथिल्लो भागबाट ड्रिल गरी उद्धारको बाटो खोल्न सकिने सम्भावनाबारे प्राविधिक टोलीले काम गरिरहेको उहाँले बताउनुभयो । बाढीपछिको खोज तथा उद्धार कार्यसँगै क्षतिको विवरण सङ्कलन र बेपत्ताको खोजी पनि जारी रहेको छ ।

प्राधिकरणका अनुसार हालसम्म एक हजार ५० जनाको शव फेला परेको छ भने चार हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । बेपत्तामध्ये ५७३ विदेशी पर्यटक र उनीहरूसँग रहेका १६४ जना नेपाली सहयोगी छन् । यस अवधिमा ११ हजार ८८४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । साथै खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजार ३१४ सुरक्षाकर्मी चौबिसै घण्टा परिचालित छन् ।

उद्धारका लागि सुरक्षाकर्मीले स्थलसँगै हवाई माध्यमलाई पनि व्यापक रूपमा प्रयोग गरिरहेका छन् । नेपाली सेनाले हवाई साधनमार्फत ६१० पटक खोज तथा उद्धार उडान गरिसकेको छ भने निजी क्षेत्रका हेलिकोप्टरले समेत २९ पटक खोज तथा उद्धार उडान गरेका छन् । उद्धार गर्नुपर्ने स्थानको बाटोमा बाढीले बनाएको दलदल सबैभन्दा ठुलो चुनौती बनेको बताउँदै गृहमन्त्री गुरुङले कतिपय स्थानमा १० देखि २० फिटसम्म दलदल बनेको र उद्धारमा प्रयोग गरिएका एक्साभेटरसमेत डुब्ने अवस्था रहेको बताउनुभयो ।

भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारण कतिपय स्थानमा हेलिकोप्टर अवतरण गर्नसमेत नसकिएको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “यो बाढीले केही कुरा बाँकी राखेको छैन । यसले गरेको क्षति कल्पना पनि गर्न सकिँदैन । कतिपय ठाउँमा त पहाड नै फुटाएको छ ।” उहाँले उद्धार कार्यमा भारत र चीनका प्राविधिक तथा उद्धार टोलीसमेत नेपाली सेनासँगको समन्वयमा निरन्तर खटिइरहेको र ती टोलीले प्रभावित क्षेत्रको सर्वेक्षण, प्राविधिक अध्ययन र उद्धार योजनामा सहयोग गरिरहेको गृहमन्त्रीले जानकारी दिनुभयो ।

‘विदेशी टोलीलाई रोकिएको छैन’

विदेशी उद्धार टोलीलाई सरकारले रोकेको भन्ने चर्चाको खण्डन गर्दै उहाँले उद्धारका लागि सबै ढोका खुला राखिएको स्पष्ट पार्नुभयो । अत्यन्तै साँघुरो र जोखिमपूर्ण हवाईक्षेत्र भएकाले सम्भावित दुर्घटना रोक्न र उद्धारलाई व्यवस्थित बनाउन हवाई व्यवस्थापनमा मात्र एकद्वार प्रणाली लागु गरिएको मन्त्री गुरुङको भनाइ थियो ।

साथै उहाँले विपत् प्रभावित क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय सरकारबिचको समन्वयमा उद्धार, राहत र व्यवस्थापनको काम भइरहेको पनि बताउनुभयो । स्थानीय तहले काम नगरेको भन्ने बुझाइ सही नभएको उल्लेख गर्दै उहाँले वडा, गाउँपालिका र नगरपालिकाले आफ्नो जिम्मेवारी अनुसार सक्रिय भएर काम गरिरहेको बताउनुभयो । नागरिकको ज्यान जोगाउन पूर्वसूचना र उद्धारमा खटिएकै अवस्थामा चार जना सुरक्षाकर्मी बेपत्ता भएको जानकारी दिँदै उहाँले सुरक्षाकर्मीले आफ्नै ज्यान जोखिममा राखेर नागरिकको उद्धारमा काम गरिरहेको बताउनुभयो ।

यसैबिच नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बुधबार एक बेलायती नागरिकसहित ११९ जनाको हवाई उद्धार गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार धुन्चे, कोलोनी, वेत्रावती र त्रिशूली–३ ‘ए’ क्षेत्रमा दुई हजार पाँच सय किलो राहत सामग्री हवाई माध्यमबाट पुर्‍याइएको छ । साथै बाढी प्रभावित चिलिमे हाइड्रोपावरको सुरुङमा विदेशी नागरिकसहित २६ जनाको संयुक्त खोज तथा उद्धार जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर