वीपी राजमार्गमा सवारीकोचाप, ग्यास बुलेट सञ्चालनबारे स्थलगत अध्ययन

काठमाडौं ।  काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग (काठमाडौं–मुग्लिन सडकखण्ड) बन्द भएपछि पूर्वी पहाडी तथा तराईका जिल्लालाई राजधानीसँग जोड्ने बीपी राजमार्गमा सवारी चाप बढ्ने भएको छ । आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायत विभिन्न स्थानमा सडक कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक डिभिजन भक्तपुरले पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै तराई तथा पूर्वी जिल्लाबाट काठमाडौँ आउने रात्रि बस तथा मालवाहक सवारी साधनको चाप बीपी राजमार्गमा बढ्न सक्ने जनाएको छ । सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि पश्चिम तथा पूर्वी क्षेत्रबाट आउने सवारी साधनका कारण कान्ति लोकपथ र त्रिभुवन राजपथमा समेत सवारी चाप बढ्ने बताउनुभयो ।

“सबैतिरबाट आएका यात्रुवाहक र मालवाहक सबै गाडी यी दुई राजमार्गले धान्ने अवस्था छैन । त्यसैले पूर्वी तथा तराईका जिल्लाबाट आउने रात्रि ठुला बस र मालवाहक सवारी साधनको चाप बीपी राजमार्गमा बढ्ने अवस्था देखिन्छ,” डिभिजन प्रमुख योगेशले भन्नुभयो ।

उहाँले बीपी राजमार्गमा ठुला रात्रि बस, मालवाहक सवारी तथा ग्यास बुलेट आएमा काभ्रेपलाञ्चोकतर्फ धुलिखेलदेखि भकुण्डेबेँसी र सिन्धुलीतर्फ खुर्कोट–चियाबारी सडकखण्डका घुम्तीमा समस्या हुने बताउनुभयो । दिउँसो साना सवारीको चाप धान्न सकिए पनि ठुला सवारीको चाप धान्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

“अहिले बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणको काम भइरहेको छ । राजमार्ग पुनर्निर्माणका लागि केही ठुला उपकरण लैजाँदा साँघुरा घुम्तीका कारण घण्टौँ सवारी जाम भएको अनुभव छ । त्यसैले दिउँसोको समयमा बीपी राजमार्गमा ठुला सवारी चलाउन सक्ने अवस्था छैन,” डिभिजन प्रमुख योगेशले भन्नुभयो ।

उहाँका अनुसार दिउँसो साना सवारीको चाप बढी हुने भएकाले ठुला सवारी सञ्चालन गर्नैपर्ने अवस्था आए रातिको समयमा अन्य सवारीलाई केही समय रोकेर ठुला रात्रि बस तथा मालवाहक सवारी सञ्चालन गर्न सकिनेछ । उहाँले बाढीले क्षतिग्रस्त पृथ्वी राजमार्ग सञ्चालनमा आउन एक महिनाभन्दा बढी समय लाग्न सक्ने बताउनुभयो । ग्यास बुलेटलाई कान्ति लोकपथ र त्रिभुवन राजपथबाट ल्याउन कठिन हुने तथा बीपी राजमार्गमा समेत घुम्तीका कारण दुईतर्फी सवारी सञ्चालनमा समस्या हुने भएकाले ग्यास बुलेट सञ्चालन गर्न सकिने वा नसकिनेबारे चालकलाई स्थलगत अनुगमन गराउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“हामीलाई दिउँसो साना सवारीको चाप बढेको अवस्थामा व्यवस्थापन गर्न सकिन्छ । यदि ग्यास बुलेट चलाउनैपर्ने अवस्था आयो भने केही समयका लागि राजमार्गको काम रोकेर पुरानो ट्र्याकबाट रातको समयमा ग्यास बुलेट चलाउन सक्छौँ,” डिभिजन प्रमुख योगेशले थप्नुभयो ।

ग्यास बुलेटका चालकलाई स्थलगत अनुगमन गराएपछि मात्रै उक्त सडकमा ग्यास बुलेट सञ्चालन गर्न सकिने वा नसकिने विषयमा स्पष्ट हुने उहाँले बताउनुभयो । राजधानी काठमाडौँ लाई तराईसँग जोड्ने बनेपा–सिन्धुली–बर्दिबास सडक योजनाको परिकल्पना विसं १९६० तिर गरिएको थियो । केही भागमा कामसमेत सुरु भए पनि त्रिभुवन राजपथ निर्माणपछि उक्त सडक निर्माण कार्य स्थगित भएको थियो ।

विसं २०५० को भीषण वर्षाले राजधानीलाई देशका अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति पुर्‍याएपछि जनजीवन अस्तव्यस्त भएको थियो । त्यसपछि नेपाल सरकारले वैकल्पिक मार्गका रूपमा विकास गर्ने सोचअनुसार जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण कार्य सुरु गरेको थियो । उक्त राजमार्ग जापान सरकारले विसं २०७२ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर