बाढी प्रभावित क्षेत्रमा बुधबारसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा बुधबारसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रको लागि सोमबार जारी गरेको विशेष मौसम बुलेटिन अनुसार सोमबार राति रसुवाको धेरै ठाउँमा मध्यम वर्षा र दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

आज राति धादिङको र नुवाकोट जिल्लाको धेरै ठाउँमा मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ । गोरखा र चितवनको केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मङ्गलबार र बुधबार रसुवाको धेरै ठाउँमा मध्यम वर्षा तथा एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना छ । सो दुई दिन धादिङ, नुवाकोट, गोरखा, चितवन जिल्लाका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा साथै मधेस र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न तथा यसबाट ती क्षेत्रहरुमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार तथा राहतमा असर पर्न सक्ने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर