बाढीपहिरो प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । भोटेकोशी बाढीपहिरोबाट प्रभावित क्षेत्रलगायतका स्थानमा अबको केही दिन वर्षा हुने सम्भावना रहेकाले सतर्क रहेर उद्धारमा खटिन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ । बाढीले अस्तव्यस्त बनेका रसुवा, नुवाकोट, धादिङ र गोरखा क्षेत्रका पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार ती क्षेत्रसँगै लाङटाङ, सिन्धुपाल्चोक, गोरखाका माथिल्लो हिमाली भेगका केही स्थानमा पनि वर्षाको सम्भावना देखिएको छ । उनले भने, “बाढी आएकै स्थानहरुमा आकस्मिक बहाव ल्याउन सक्छ, तल्लो तटीय क्षेत्रका बासिन्दा र उद्धारकर्मीहरुले मौसमी पूर्वसूचनालाई निरन्तर पछ्याउनु पर्ने देखिएको छ ।”
विभागकोे मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसमविद् दाहालका अनुसार १० देखि ५० मिलिमिटरभित्रको वर्षालाई मध्यम वर्षाका रुपमा गणना गरिन्छ । त्यस्तै ५० मिलिमिटरमाथिको वर्षालाई भारी वर्षाको रुपमा गणना गरिन्छ ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय लगायत प्रकोपको जोखिम र क्षतिबाट बच्न र ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्दार तथा राहातमा असर पर्ने सम्भावना औंल्याइएको छ।
२४ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची–घ्याङमा ८९.६ मिलिमिटर सबैभन्दा धेरै वर्षा भएको महाशाखाले जनाएको छ । अन्यत्र बागमती, गण्डकी र लुुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने अन्य प्रदेशमा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ ।
