बेपत्ताको संख्या यकिन गर्न मुस्किल : प्राधिकरण
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन तथ्यांक अझै निर्धारण गर्न नसकिएको जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले स्थानीय तहदेखि सुरक्षा निकाय तथा जलविद्युत् आयोजनाबाट विवरण संकलन भइरहेकाले बेपत्ताको संख्या अझै घटबढ हुन सक्ने बताइन् । उनका अनुसार सोमबार बिहान ९ बजेसम्म सम्बन्धित आधिकारिक निकायबाट प्राप्त विवरणलाई एकीकृत गर्दा ४ हजार २०२ जना बेपत्ता रहेको तथ्यांक आएको छ । तर, खोज तथा उद्धार कार्य जारी रहेकाले यो संख्या अन्तिम नभएको उनले स्पष्ट पारिन् ।
‘हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर एक्ज्याक्ट पत्ता लगाउन अलिकति अप्ठ्यारो नै छ,’ महतले भनिन्, ‘स्थानीय पालिका, सिडियो कार्यालयदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज र हाइड्रो आयोजनाबाट संख्याहरू लिने गरेका छौँ ।’
उनका अनुसार बेपत्ताको खोजी भइरहेकाले केही व्यक्ति सम्पर्कमा आउन सक्ने र नयाँ बेपत्ताको विवरणसमेत थपिन सक्ने अवस्था छ । ‘अहिले आधिकारिक निकायबाट प्राप्त भएका डेटालाई एक्युमुलेट गरेर ४ हजार २०२ भनेर तथ्यांक निकालेका छौँ । यो अपडेट फेरि घट्ने–बढ्ने भइरहन्छ,’ उनले भनिन् ।
