पृथ्वी राजमार्गको परेवाभिर र शीतलबजारमा सडक भासियो

काठमाडौं ।  पृथ्वी राजमार्गको परेवाभिर र  शीतल बजार क्षेत्रमा  राजमार्ग भासिनुका साथै चिरिन लागेको छ । धादिङ्गमा पर्ने गजुरी गाउँपालिका वडा नम्बर २ को परेवाभिर र बेनिघाट रोराङ्ग गाउँपालिकाको वडा नम्वर ७, शीतल बजार क्षेत्रमा  राजमार्ग भासिएर त्रिशुली नदीमा खस्न शुरु भएको छ ।

पृथ्वी राजमार्ग नौविसे मलेखु पुनर्निर्माण आयोजनाका इन्जिनियर राजिव मानन्धरका अनुसार त्रिशुलीमा झर्न थालेको छ । “त्रिशुली नदी तर्फवाटै भत्किएर झर्न सुरु गरि सकेको छ ,  सडक चिरिएको छ । समस्या जटिल बन्दै छ”, उहाँले भन्नुभयो । परेवाभिरमा १०० मिटर र शीतलबजारमा २० मिटर सडक चिरिएर भासिएको उहाँले जनाउनुभयो ।

त्रिशूली नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन भई सडकतर्फ कटान बढ्दा कृष्णभिरमा राजमार्गको ठूलो भाग क्षतिग्रस्त भएको हो । एउटै प्रकृतिको जोखिम धेरैस्थानमा देखिएपछि पृथ्वी राजमार्गको दीर्घकालीन सुरक्षामा समेत प्रश्न उठेको छ । सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले कृष्णभिरमा देखिएको क्षति आफूहरूले कल्पना गरे भन्दा बाहिरको भएकोे बताउनुभयो । उहाँले यहाँको मुख्य समस्या त्रिशूली नदीको कटान नै भएको बताउनुभयो ।

“कृष्णभिर भासिने समस्या कल्पना नै नगरेको समस्या आयो । त्रिशूली नदीको कटान नै मुख्य कारण हो,” उहाँले भन्नुभयो, “बाढीले नदीको सतह बढ्यो । नदीले धार परिवर्तन गरेर सिधै राजमार्गतर्फ हान्दा सडक बगायो”, विभागले गठन गरेको अध्ययन समितिका  संयोजक समेत रहनु भएका पौडेलले भन्नुभयो । उहाँहरुले आइतबार मात्रै स्थलगत निरीक्षण  गर्नुभएको छ ।

नारायणगढ-मुग्लिन सडकमा पनि पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डको ३१ किलो क्षेत्रमा समेत सडक भासिने समस्या देखिएको छ । इच्छाकामना गाउँ पालिका वडा नम्वर ६  मा पर्ने सो स्थानमा  सडक  छेउवाटै  झण्डैँ चार मिटर भासिएर पहिरो गएको छ । यो क्षेत्र नारायणगढवाट ३१ किलो मिटर पूर्व र  मुग्लिनवाट ५ किलो मिटर पश्चिममा पर्छ । पहिरो झर्ने स्थानलाइ स्थानियले चोर खोला पनि भन्ने गर्दछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरिक्षक अनिल थापाका अनुसार आइतवार राति राजमार्गसगैँ जोडिएको चार मिटर खण्ड पहिरोले त्रिशुली नदिमा झारेको छ । “राजमार्गसगै रहेको क्षेत्र पहिरोले झारेको छ । सडकसगैँ रहेको पोल पनि पहिरोले लग्यो”, उहाँले भन्नुभयो ।

उता, धादिङ्गको बेनीघाट रोराङ्ग गाउँ पलिका वडा नम्वर ७ मा रहेको कृष्णभिरमा  एक सय २० मिटर लम्बाई र नौ मिटर चौडाई राजमार्ग भासिएर त्रिशुलीमा खसेको छ । पृथ्वी राजमार्ग र यसका  सहायक मार्गहरुमै सडकको संरचना कमजोर बन्न थालेपछि तत्कालीन मर्मतसँगै दीर्घकालीन जोखिम मूल्याङ्कन आवश्यक देखिएको विज्ञले औँल्याउनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर