विपदमा हुनसक्ने चोरी, लुटपाट र ठगी नियन्त्रण प्राथमिकतामा
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार र खोजीमा जुटेको नेपाल प्रहरीले प्रभावित क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा, राहत वितरण र शव व्यवस्थापनसँगै विपद्को मौका छोपी हुनसक्ने चोरी, लुटपाट, ठगी तथा साइबर अपराध नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको छ ।
बाढी प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन तथा प्रभावित नागरिकको उद्धार, खोजी, राहत र सुरक्षा व्यवस्थापनका लागि हालसम्म सात हजार ८९४ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।उद्धारका क्रममा घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्याउने, विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, राहत वितरणमा सहजीकरण गर्ने, मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्ने र बाढीले बगाएर ल्याएका शवको खोजी तथा व्यवस्थापन गर्न प्रहरीका विभिन्न टोली प्रभावित क्षेत्रमा खटिएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकको कमान्डमा परिचालित टोलीले स्थानीय प्रशासन, स्थानीय तह तथा नेपाली सेना र सशस्त्र प्रहरी बलसँग समन्वय गरी उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् ।नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी नायव महानिरीक्षक सुदर्शन कोइरालाको कमान्डमा स्थापित विपद् प्रतिकार्य समन्वय केन्द्रबाट उद्धार, खोजी, राहत वितरण, शव सङ्कलन तथा व्यवस्थापनलगायतका कामको समग्र समन्वय भइरहेको छ ।
त्यसैगरी प्रहरी नायव महानिरीक्षक ओमबहादुर रानाको कमान्डमा शिक्षण अस्पताल महाराजगन्जमा स्थापना गरिएको कमान्ड पोस्टले विभिन्न अस्पतालसँग समन्वय गरी घाइतेको उद्धार, उपचार तथा शव व्यवस्थापनको काम गरिरहेको छ ।
ड्रोन र कुकुरसहित खोजी
बाढीले पुर्याएको क्षति र प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजीका लागि प्रहरीले अत्याधुनिक उपकरणको प्रयोग बढाएको छ । ड्रोन क्यामेरा तथा तालिमप्राप्त कुकुरसहितका खोज तथा उद्धार टोलीलाई आवश्यकताअनुसार विभिन्न स्थानमा परिचालन गरिएको छ ।प्रभावित क्षेत्रमा घटनाको वस्तुस्थिति बुझ्न, क्षतिको विवरण सङ्कलन गर्न तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन फोटोग्राफी, ड्रोन क्यामेरा र सञ्चार उपकरणसहितका विशेष टोलीसमेत परिचालन गरिएको छ । घाइतेको उद्धारपछि तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल प्रहरी अस्पतालबाट मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको छ । कानुनी सहायता तथा घटनास्थलको मुचुल्का तयार गर्न छुट्टै टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
शव पहिचानमा प्रविधिको प्रयोग
बाढीमा ज्यान गुमाएका तर तत्काल पहिचान खुल्न नसकेका शवको सुरक्षित व्यवस्थापन र भविष्यमा सनाखत गर्न सकिने प्रमाण सुरक्षित राख्न प्रहरीले विशेष प्रक्रिया अपनाएको छ ।शवको फोटो तथा भिडियोसहित अभिलेख राख्ने, डीएनए र फिङ्गरप्रिन्टको नमुना सङ्कलन गर्ने तथा फरेन्सिक विशेषज्ञसँग समन्वय गरी आवश्यक प्रमाण सुरक्षित राख्ने काम भइरहेको छ ।पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ ९पहिलो संशोधन, २०८३० अनुसार स्थानीय तहसँग समन्वय गरी शव व्यवस्थापनको काम अघि बढाइएको छ । फेला परेका शवको सनाखतमा सहयोग पुग्ने गरी तस्बिरसहितको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रहरीले जनाएको छ ।
विपद्को मौका छोपी अपराध
उद्धारमा सुरक्षाकर्मी व्यस्त रहेको र प्रभावित नागरिक सुरक्षित स्थानमा सारिएको अवस्थामा खाली घर, पसल तथा संरचनामा चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले गस्ती र निगरानीलाई तीव्र बनाएको छ ।बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको सेफबाट नगद निकाली चोरी गरेको आरोपमा पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख २० हजार रुपियाँ सहयोग गरेको भन्दै च्याटजिपिटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेर सामाजिक सञ्जालमा राखेको आरोपमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान् कार्की पक्राउ परेका छन् । बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा चोरी गरेको आरोपमा चितवन भरतपुर महानगरपालिका–१ लीलाचोकका २५ वर्षीय मदन गुरुङसहित दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सूचना र निगरानी बढाइयो
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले विपद्को समयमा नागरिकको जिउधनको सुरक्षा गर्नु प्रहरीको प्रमुख दायित्व भएकाले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी काम भइरहेको बताउनुभयो । उहाँका अनुसार उद्धार र राहतको कामसँगै विपद्को नाममा हुनसक्ने चोरी, लुटपाट, ठगी तथा साइबर स्क्याम रोक्न सूचना सङ्कलन, सामाजिक सञ्जालको अनुगमन तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाइएको छ ।
“विपद्को मौका छोपी हुनसक्ने आपराधिक गतिविधि रोकथाम गर्न नेपाल प्रहरी थप संवेदनशील भएर कार्य गरिरहेको छ,” उहाँले भन्नुभयो ।उद्धार गरिएका घाइते तथा विस्थापितको व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित गर्न काठमाडौँ, नुवाकोट र धादिङका विभिन्न स्थानमा २२ वटा होल्डिङ सेन्टरको व्यवस्था गरिएको छ ।
