सुरुङबाट विदेशीसहित २०८ जनाको उद्धार, सात वर्षीया एक बालिकाको जीवितै उद्धार

काठमाडौं ।  भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ ।

सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीयसहित २०८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धारका लागि रहेको संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’ लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ ।

साथै, प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङलगायत नेपाली सेनाको करिब सात हजार भन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा शव व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ ।

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसोे जीवितै उद्धार भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

धुन्चे अस्पतलाका वरिष्ठ सर्जन डा सुनीलकुमार दासले बालिकाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा ‘रेफर’ गरिएको जानकारी दिनुभयोे ।

घाइते बालिकाकी आमा अर्घाखाँची स्थायी घर भई हाल ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत गीता इचाइ मगर र बुबा लोकबहादुर उचाइलाई सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि यसअघि काठमाडौँ पठाइएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर