भोटेकोशी बाढी : नेपाललाई पूर्वसूचना दिएको चिनियाँ दूतावासको स्पष्टोक्ति

काठमाडौं । रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई पूर्वसूचना नदिएको भन्दै नेपाली सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममा भइरहेको आलोचनाप्रति नेपालस्थित चिनियाँ दूतावासले स्पष्टीकरण दिएको छ।

चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै उपलब्ध प्रविधिको सीमाभित्र रहेर चिनियाँ विज्ञ टोलीले हिमाली क्षेत्रको जोखिमको निरन्तर निगरानी, मूल्यांकन र विश्लेषण गर्दै आएको तथा महत्त्वपूर्ण सूचना नेपाली पक्षलाई समयमै उपलब्ध गराउँदै आएको दाबी गरेका छन्।

दूतावासले हिमालय क्षेत्रमा जोखिमका बिन्दुहरू अत्यन्तै छरिएर रहेका छन्। ४ हजारदेखि ५ हजार मिटर वा त्यसभन्दा माथिको उचाइमा रहेका हिमताल तथा हिमचट्टानका ठूलो संख्या अत्यन्त चिसो र दुर्गम क्षेत्रमा रहेका बताएको छ। यस्तो क्षेत्रमा कर्मचारी परिचालन गरेर नियमित स्थल सर्वेक्षण गर्न तल्लो भूभागमा जस्तो व्यापक निगरानी गर्न कठिन हुने चीनको भनाइ छ।

त्यस्तै, ठाडा पहाडी भिरमा तस्बिरबाट गरिने निगरानीमा देखिने त्रुटि तथा विशाल र जटिल भूभागमा उच्च परिशुद्धताको निगरानी कायम गर्नु अन्तर्राष्ट्रियस्तरमै चुनौती रहेको दूतावासले जनाएको छ। चीनले सन् २०१५ अप्रिल २५ को भूकम्पले हिमालयको दक्षिणी ढलानका चट्टानी संरचनामा असर पुर्‍याएकोले उच्च हिमाली क्षेत्रमा रहेका चट्टानको जोखिमसम्बन्धी अनिश्चितता थपिएको समेत उल्लेख गरेको छ।

सीमापार विपद् व्यवस्थापनमा समन्वय भइरहेको दाबी

चिनियाँ दूतावासले नेपाल र चीनबीच सीमापार विपद् व्यवस्थापनका विषयमा निरन्तर नजिकबाट संवाद भइरहेको जनाएको छ। दूतावासका अनुसार यसै वर्ष मे महिनामा चीनको जलस्रोत मन्त्रालय र सिजाङ स्वायत्त क्षेत्रको जलस्रोत विभागको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको थियो।

उक्त टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद् सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने विषयमा छलफल गरेको र उल्लेखनीय प्रगति भएको चीनको दाबी छ।

त्यस्तै, अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय जोखिम तथा वातावरणसम्बन्धी संस्थाको टोलीले नेपाल भ्रमण गरी वैज्ञानिक अनुसन्धान तथा अनुभव आदानप्रदान गरेको दूतावासले जनाएको छ।उक्त टोलीले हिमताल निगरानीसम्बन्धी चीनको व्यावहारिक अनुभवसमेत नेपाली पक्षसँग साझा गरेको जनाएको छ।

अगस्ट २६ मा मौसमसम्बन्धी आपतकालीन बैठक

दूतावासले विशेष रूपमा अगस्ट २६ को घटनाक्रमबारे उल्लेख गरेको छ। चीनको मौसम विज्ञान प्रशासनले बुधबार नेपालको जल तथा मौसम विज्ञान विभागसँग आकस्मिक भर्चुअल बैठक आयोजना गरी विपद्को अवस्थाबारे संयुक्त मूल्यांकन गरेको जनाएको छ। उक्त क्रममा दुवै पक्षले तथ्यांकसमेत आदानप्रदान गरेका दूतावासले जनाएको छ।

चीनले हाल पनि नेपालसँग जल तथा मौसमसम्बन्धी सूचना निरन्तर आदानप्रदान गरिरहेको जनाएको छ। यसमा पहिरोपछि बनेको कृतिम  तालको निगरानीसम्बन्धी तथ्यांकसमेत समावेश रहेको दूतावासले जनाएको छ।

चीनले विपद् उद्धार तथा रोकथामका लागि नेपाललाई सहयोग गर्न आफ्नो चिनियाँ बौद्धिक मौसम पूर्वचेतावनी समाधान अन्तर्गत प्रारम्भिक अनुकूलित सेवा उपलब्ध गराएको समेत जनाएको छ।

चिनियाँ दूतावासले यी सबै कदमले नेपालको विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यकतालाई चीनले उच्च महत्त्व दिएको र नेपालसँग सहकार्य गर्ने आफ्नो इमानदार दृष्टिकोणलाई प्रमाणित गर्ने दाबी गरेको छ।

दूतावासले नेपाल–चीनबीच विपद् व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र सूचना आदानप्रदानमा आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गर्दै दुई देशका नागरिकको सुरक्षा र हितका लागि यस्तो सहकार्य अझ प्रभावकारी बनाउने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर