सुरुङभित्र फसेकालाई आज साँझसम्म उद्धार गर्ने प्रयास

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजना तथा प्रशारण क्षेत्रमा कार्यरत करिब ३ सय ७५ जना बेपत्ता वा सम्पर्कविहीन छन् ।

प्राधिकरणले हाल हराएका कर्मचारीलाई खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरेको छ । सम्पर्कविहीन रहेकामध्ये कति जना सुरुङ वा संरचनाभित्र फसेका छन् र कति जनालाई बाढीले बगाएको छ भन्ने यकिन हुन बाँकी रहेको प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले उनीहरुलाई शनिवारसाँझसम्म उद्धार गर्नेगरी तयारी गरेको जानकारी दिए । उनका अनुसार सो आयोजनाका ४२ जना कर्मचारी सम्पर्कविहीन छन् । तीमध्ये आयोजनामा रहेका भूमिगत पावर हाउसमा ३२ देखि ३३ जनासम्म फसेको हुनसक्ने आशंका गरिएको छ ।

उनका अनुसार ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको भूमिगत पावर हाउसमा केही कर्मचारी फसेको आशंका गरिएको छ । करिव १० जनालाई भने बाढीले बगाएको स्थानीय कर्मचारी तथा सर्वसाधारणबाट जानकारी आएको उनको भनाई छ । बाँकी कर्मचारी भने पावर हाउसको भूमिगत संरचनाभित्र रहेको आशंका गरिएको छ ।

श्रेष्ठकाअनुसार पावर हाउससम्म पुग्ने मुख्य एक्सेस टनेल माटो, ढुंगा र बोल्डरले पूर्णरूपमा भरिएकाले उद्धारमा कठिनाइ भएको छ । हाल केबल डक्टबाट उत्खनन गर्दै भूमिगत पावर हाउसतर्फ पुग्ने प्रयास भइरहेको छ । यस्तै, नेपाल विद्युत प्राधिकरणका अनुसार प्रारम्भिक विवरणमा भने ४ सय ३० मेगावाट क्षमताका करिव १५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर