ल्हेन्दे खोलामा फेरि दुई वटा स-साना ताल निर्माण
ल्हेन्दे खोलामा बनेका ताल (सेतो देखिने) बाढीले बगाएको क्षेत्र । तस्विर सौजन्य : डा. नितेश खड्का
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीको उद्गमस्थल ल्हेन्दे खोलामा फेरि दुई वटा ससाना तालहरू निर्माण भएको विज्ञहरूले औल्याएका छन् ।
हिमाल, हिमनदी र हिउँ पहिरोको बारेमा अध्ययन अनुसन्धानमा संलग्न चिनियाँ वैज्ञानिक गुवसियोङ चङले सार्वजनिक गरेको स्याटलाइट तस्बिरमा हिउँ पहिरो खसेको तल्लो भाग ल्हेन्दे खोलामा लहरै लगाएर दुइ वटा साना ताल निर्माण भएको देखिएका छन् ।
चिनियाँ वैज्ञानिक गुवसियोङ चङसँग अध्ययन अनुसन्धानमा संलग्न नेपाली वैज्ञानिक डा. नितेश खड्का अनुसार नेपालको सिमाना भित्रै दुई वटा ससाना तालहरू देखिनुले ती तालको पानी जतिबेला पनि बग्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सुरक्षाका मापदण्ड अपनाउन जरूरी छ ।
हिउँविज्ञ डा. खड्काले भन्नुभयो, “यो घटनापछि देखिएका तालको आकार हेर्दा धेरे ठुलो मात्रामा पानी रहेको जस्तो त लाग्दैन । तर पनि पानी जतिबेला पनि बग्न सक्छ ।”
उहाँकाअनुसार यी दुवै ताल फुटेपनि तल्लो तटीय क्षेत्रमा पहिलेको जस्तो ठुलो जोखिम भने हुँदैन ।
डा. खड्काले भन्नुभयो, “तल्लो क्षेत्रका घर, जग्गा, भौतिक पूर्वाधार बग्न र नोक्सानी हुन बाँकी केही छैन । यो भन्दा बढी क्षति हुनलाई १० गतेको भन्दा ठुलो बाढी आउनु पर्छ । यी ससाना तालमा धेरै मात्रामा पानी देखिदैन । तर पनि हाल सुरुङभित्र फसेका व्यक्तिको उद्धारको काम भइरहेको बेला त्यसलाई असर पार्न सक्छ । त्यसैले समयमै उद्धारको काम सक्नु आवश्यक छ ।”
उहाँका अनुसार ठुलो खालको विष्फोटन भइसकेको भएकाले अब तल्लो तहमा जोखिम शुन्य प्रायःजसो भइसकेको छ । अब आत्तिइ हाल्नुपर्ने अवस्था भने छैन । तथापि, सानोतिनो भलबाढीले लेदो बगाएकाले सम्भावित हुनसक्ने असरप्रति सचेत हुन आवश्यक देखिएको छ ।
अर्का हिउँविज्ञ डा. सुदीप ठकुरीले भन्नुभयो, “जोखिमप्रति सधैँ सचेत र सजग हुुनुपर्छ । यथाशक्य छिटो उद्धारका काम सकेर थप मानवीय क्षति हुनबाट बच्नु पर्छ ।” स्याटलाइट तस्बिर हेर्दा नेपालका तर्फको लाङटाङ लिरुङ हिमालको एक भाग पहिरो खसेको देखिन्छ । पहिरो खसेको माथिल्लो भागमा अहिले पनि हिउँ जम्मा भएको देखिन्छ ।
१० गते बिहाना सो भाग ल्हेन्दे खोलामा खस्दा त्यसको पानी तिब्बततर्फ छचल्किएर बगेको र फेरि नेपालतर्फ बाढीको रूपमा बगेको बताइएको छ । उहाँले भन्नुभयो, “यो घटनाले अन्तरदेशीय प्रभाव देखाएकोले यस्ता खालका प्राकृतिक विपत्तीबाट बच्न र जोगिन अन्तरदेशीय सूचना प्रणाली विकास गर्न जरुरी छ ।” (समाचार तस्बिरः गोरखापत्र अनलाइनबाट)
