बाढीबाट ७५३ मेगावाट बिजुली उत्पादन प्रभावित
काठमाडौं । तिब्बतबाट रसुवा हुँदै आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १५ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बाढीबाट सञ्चालनमा रहेका १० आयोजना र निर्माणाधीन ५ आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
क्षतिग्रस्त आयोजनामध्ये सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता ३५९ मेगावाट रहेको छ भने निर्माणाधीन आयोजनाको क्षमता ३९४ मेगावाट छ । रसुवा जिल्लामा मात्रै ८ वटा प्रमुख जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । तीमध्ये ५ वटा आयोजना सञ्चालनमा रहेका छन् भने ३ वटा निर्माणाधीन छन् । सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २३६ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३४२ मेगावाट रहेको छ ।
रसुवाका प्रभावित आयोजनामा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, ७८ मेगावाटको सान्जेन खोला, ५ मेगावाटको मैलुङ खोला, २० मेगावाटको लाङटाङ खोला र २२ मेगावाटको तिमिल्से आयोजना सञ्चालनमा छन् ।
त्यस्तै २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १२० मेगावाटको रसुवा–भोटेकोशी र ६.४२ मेगावाटको माथिल्लो मेलुङ–ए जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । नुवाकोटमा भने ६ वटा प्रमुख जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । यहाँ सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १२३ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ५२.६ मेगावाट रहेको छ ।
नुवाकोटका प्रभावित आयोजनामा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना, १४।१ मेगावाटको देवीघाट जलविद्युत् आयोजना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए र २५ मेगावाटको सोलार आयोजना सञ्चालनमा छन् । त्यस्तै ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी र १५।६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजना निर्माणाधीन अवस्थामा छन् ।
प्रारम्भिक विवरणअनुसार बाढीले आयोजनाका बाँध, विद्युत् गृह, प्रसारण संरचना, पहुँच मार्गलगायतका संरचनामा क्षति पुर्याएको हुनसक्ने देखिएको छ । आयोजनाहरूमा भएको वास्तविक क्षतिको विवरण भने स्थलगत निरीक्षण तथा प्राविधिक मूल्यांकनपछि मात्रै यकिन हुने बताइएको छ ।
