ताल फुटेको सूचनासँगै नारायणी किनारमा जान रोक
काठमाडौं । रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।
बुधबार ताल फुटेर आएको ठुलो बाढीले अकल्पनीय जनधनको क्षति भएको थियो । शुक्रबार पनि ताल फुटेको सूचना आएलगत्तै नदी छेउ किनारमा जान रोक लगाइएको र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले नारायणी नदी छेउछाउमा व्यापार व्यवसायी गर्न र नदी किनारमा जान रोक लगाइएको जानकारी दिनुभयो ।
नारायणगढको बजार नजिकै नदी किनारमा बाढी हेर्न गएका स्थानीयलाई शुक्रबार दिउसो १२ः३० बजेबाट माइकिङ गरेर सुरक्षित स्थानमा जान अनुरोध गरिएको उहाँले बताउनुभयो । नारायणगढ बजारदेखि दक्षिण तर्फको शिवघाट, मङ्गलपुर, शरणपुर हुँदै मेघौली क्षेत्रसम्म नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न सूचना प्रवाह गरिएको पौडेलले बताउनुभयो ।
चितवन र आसपास मौसम बदली हुने अवस्था रहेको छ । आकासमा कालो बादर मडारिएकाले पानी पर्ने भएपछि थप नदीमा बाढी आउनसक्ने अनुमान गरिएकाले सतर्क रहन प्रशासनले अनु्रोध गरेको छ ।
