प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशीमा प्रवेश गरेको बाढी करिब साढे ६ घण्टामा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनको देवघाटसम्म पुगेको थियो। यस क्रममा भोटेकोशीको बाढी त्रिशूली हुँदै नारायणी नदी प्रणालीमा मिसिएको थियो।
सरकारी प्राविधिक विश्लेषणले यो घटनालाई केवल भोटेकोशीमा आएको स्थानीय बाढीका रूपमा नभई नदीको माथिल्लो क्षेत्रमा अचानक ठूलो परिमाणमा पानी थपिँदा क्रमशः तल्लो तटीय क्षेत्रमा सर्दै गएको बहुप्रभावी बाढीका रूपमा देखाएको छ।
तिब्बतमा बनेको ताल र त्यसपछि नेपालमा बाढी
प्रतिवेदनअनुसार भदौ १० गते बिहान ८ बजेर ३७ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि भोटेकोशीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालसँग सम्बन्धित असामान्य अवस्था देखिएको थियो।
बिहान ९ बजेर ५ मिनेटमा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो। त्यसअघि नै स्याफ्रुबेँसीस्थित जलमापन केन्द्रबाट तथ्याङ्क आउन बन्द भइसकेको थियो। बिहान ८ बजेर ४० मिनेटमा उक्त केन्द्रमा अन्तिम पटक जलसतह १.६२ मिटर मापन भएको थियो।
यसपछि बाढीको वास्तविक अवस्था प्रत्यक्ष जलमापनबाट पत्ता लगाउने क्षमता माथिल्लो क्षेत्रमा कमजोर बनेको देखिन्छ। बाढीले पछि भोटेकोशी, स्याफ्रुबेँसी, बेत्रावती र फुर्के गरी चारवटा जलमापन केन्द्र नै बगाएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले बिहान ९ बजेर ५ मिनेटमा भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको बताउदै त्यसको करिब १० मिनेटपछि अर्थात् ९ बजेर १५ मिनेटदेखि बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसूचना पठाउन थालेको उल्लेख गरेको छ। बाढी बिहान १० बजेर २८ मिनेटमा धादिङको गल्छी आसपास पुगेको थियो। ११ बजेर २६ मिनेटमा मलेखुको फुर्के जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो भने ११ बजेर ४३ मिनेटमा खतराको तहसमेत पार गरेको थियो। त्यसको केही समयपछि फुर्के खोला जलमापन केन्द्र पुलसहित बाढीले बगाएको थियो।
बिहान ११ बजेर ५० मिनेटमा बाढी मलेखु बजार आसपास पुगेको थियो। दिउँसो १ बजे मुग्लिन पार गरेको बाढी ३ बजेर २० मिनेटमा नारायणी–देवघाट क्षेत्रमा पुगेको थियो। अर्थात् भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको समयदेखि देवघाटसम्म बाढी पुग्न करिब ६ घण्टा १५ मिनेट लागेको देखिन्छ।
१ करोड ९६ लाख ६५ हजार ६ सय घनमिटर अतिरिक्त पानी
प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण प्राविधिक निष्कर्षमध्ये एक देवघाटबाट बगेको अतिरिक्त पानीको मात्रा हो। चितवनको देवघाट जलमापन केन्द्रमा दिउँसो २ बजेर ४० मिनेटदेखि ४ बजेसम्म बाढीको बहाव उल्लेख्य रूपमा बढेको थियो। यस अवधिमा अधिकतम बहाव करिब ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड पुगेको देखिन्छ। प्राविधिक गणनाअनुसार सामान्य आधार बहावलाई अलग गर्दा बाढीका कारण देवघाटबाट थप करिब १ करोड ९६ लाख ६५ हजार ६ सय घनमिटर पानी बगेको अनुमान गरिएको छ। यो परिमाणले बाढीको वास्तविक आकार बुझ्न महत्वपूर्ण आधार दिन्छ। नदीमा पानीको सतह कति मिटर पुग्यो भन्ने मात्र होइन, निश्चित अवधिमा नदीबाट कति अतिरिक्त पानी बग्यो भन्ने तथ्यले बाढीको शक्ति र त्यसले तल्लो क्षेत्रमा पार्न सक्ने प्रभाव देखाउछ। यसै आधारमा प्रतिवेदनले भोटेकोशीबाट आएको बाढीले त्रिशूली र नारायणी नदी प्रणालीमा समेत ठूलो परिमाणमा अतिरिक्त पानी थपेको निष्कर्ष निकालेको छ।
देवघाटमा ६.५७ मिटर जलसतह
बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अवस्थामा देवघाटमा जलसतह करिब ८ मिटर पुग्न सक्ने अनुमान गरेको थियो। तर वास्तविक मापनमा देवघाट जलमापन केन्द्रमा उच्चतम जलसतह ६.५७ मिटर पुगेको थियो। दिउँसो ३ बजेर २० मिनेटमा बाढी देवघाट पुगेको सूचना प्राप्त भएको थियो। त्यसको करिब ४० मिनेटपछि अर्थात् ४ बजे जलसतह उच्चतम बिन्दुमा पुगेको थियो। त्यसपछि पानी घट्न थालेको थियो।
साँझ ६ बजेर ३० मिनेटसम्म देवघाटमा नदीको बहाव करिब ४ मिटरको सामान्य अवस्थातर्फ फर्किएको प्रतिवेदनमा उल्लेख छ। यसले प्रारम्भिक पूर्वानुमान र वास्तविक अवस्थाबीचको अन्तरसमेत देखाएको छ। बाढीको स्वरूप, माथिल्लो क्षेत्रमा थुनिएको पानीको अवस्था र नदीमा थपिने पानीको मात्रा तत्काल स्पष्ट नभएकाले प्रारम्भिक अनुमानमा उच्चतम जलसतह बढी देखिएको हुन सक्छ।
चार जलमापन केन्द्र बग्नु गम्भीर प्राविधिक कमजोरी
बाढीको सबैभन्दा गम्भीर पक्षमध्ये एउटा चारवटा जलमापन केन्द्रको क्षति हो। रसुवाको भोटेकोशी, स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती र धादिङको फुर्के जलमापन केन्द्र बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ। यी केन्द्रबाट प्रत्यक्ष तथ्याङ्क प्राप्त हुन नसक्दा बाढीको वास्तविक बहाव र जलसतहको तत्काल मूल्याङ्कन कठिन बनेको थियो। विशेषगरी बाढीको स्रोत क्षेत्रमा रहेको जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त नहुनु पूर्वसूचना प्रणालीका लागि ठूलो चुनौती हो। माथिल्लो क्षेत्रमा कति पानी थपियो, कति तीव्र गतिमा तल आयो र बाटोमा नदीको अवस्था कसरी परिवर्तन भयो भन्ने जानकारी कमजोर हुँदा तल्लो क्षेत्रमा गरिने पूर्वानुमान बढी अनुमानमा निर्भर हुन सक्छ।
पूर्वसूचनाले पारेको प्रभाव
प्रतिवेदनले पूर्वसूचना प्रणालीलाई पनि घटनाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरेको छ। बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रका नागरिकलाई नेपाल टेलिकम र एनसेलमार्फत कुल ६ लाख ७९ हजार २९५ वटा मोबाइल सन्देश पठाएको जनाएको छ। यसमा नेपाल टेलिकममार्फत ४ लाख ३५ हजार ६३५ र एनसेलमार्फत २ लाख ४३ हजार ६६० सन्देश पठाइएको थियो।
पूर्वसूचनामा नदी तटीय क्षेत्रबाट सुरक्षित स्थानमा जान, मुग्लिन–नारायणगढ सडकखण्डमा उच्च सतर्कता अपनाउन, त्रिशूली र नारायणी नदी आसपासका बस्ती खाली गर्न तथा जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको थियो। सरकारी प्रतिवेदनले समयमै प्रवाह गरिएको सूचनाका कारण धेरै नागरिकले आफ्नो ज्यान जोगाउन सफल भएको उल्लेख गरेको छ।
पूर्वसूचना प्रभावकारी भएको देखिए पनि माथिल्लो भोटेकोशीमा प्रत्यक्ष तथ्याङ्कको अभाव गम्भीर कमजोरीका रूपमा देखिएको छ। प्रतिवेदनमा दिउँसो १ बजेर ३५ मिनेटमा तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्णरूपमा नखुलेको सूचना प्राप्त भएको उल्लेख छ। यसको अर्थ नेपालमा पहिलो ठूलो बाढी आइसकेपछि पनि माथिल्लो क्षेत्रमा थप पानी आउने सम्भावना तत्काल समाप्त भएको थिएन। त्यसैले प्रतिवेदनले भोटेकोशी–त्रिशूली–नारायणी प्रणालीमा निरन्तर वास्तविक समयको अनुगमन, तालको अवस्था सम्बन्धी सूचना आदानप्रदान र तल्लो तटीय क्षेत्रको निरन्तर मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
यो पक्ष आगामी दिनका लागि अझ महत्वपूर्ण छ, किनकि एउटै घटनालाई केवल ‘बाढी आयो र सकियो’ भनेर हेर्न मिल्दैन। माथिल्लो क्षेत्रमा नदी थुनिने, ताल बन्ने र फेरि फुट्ने अवस्था दोहोरिएमा अर्को बाढीको जोखिम पुनः उत्पन्न हुन सक्छ।
बाढीको प्रभाव तल्लो क्षेत्रमा कसरी बढ्दै गयो ?
भोटेकोशीमा प्रवेश गरेको पानी त्रिशूली नदीमा मिसिँदै तलतर्फ सर्दा यसको प्रभाव क्रमशः फराकिलो हुँदै गएको प्रतिवेदनले देखाएको छ। रसुवाबाट नुवाकोट, धादिङ हुँदै चितवनसम्म बाढी पुग्दा नदीको आफ्नै बहाव पनि यसमा थपिएको थियो। त्यसैले तल्लो क्षेत्रमा पुगेको पानीलाई केवल भोटेकोशीबाट आएको पानीको मात्रा भनेर बुझ्न मिल्दैन। देवघाटमा गरिएको गणनाले पनि यही देखाउछ। माथिल्लो क्षेत्रबाट आएको बाढी र बाटोमा त्रिशूली–नारायणी नदी प्रणालीमा रहेको पानी जोडिँदा तल्लो क्षेत्रमा ठूलो बहाव बनेको थियो। यस कारण रसुवामा सुरु भएको जोखिम केही घण्टामै नुवाकोट, धादिङ र चितवनसम्म फैलिएको हो।
प्रतिवेदनको अर्को महत्वपूर्ण पक्ष माथिल्लो भोटेकोशी क्षेत्रमा जोखिम पूर्णरूपमा समाप्त नभएको निष्कर्ष हो। नदी थुनिएको स्थानको अवस्था सामान्य नभएको सूचना प्राप्त भएकाले भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीमा जोखिम पूर्णरूपमा समाप्त भएको मान्न नसकिने प्रतिवेदनमा उल्लेख छ।
त्यसैले नदी किनार र सम्भावित डुबान क्षेत्रका बासिन्दालाई थप सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको थियो। यसले भदौ १० गतेको बाढीलाई एकपटकको घटना मात्र नभई माथिल्लो क्षेत्रमा पानी थुनिने अवस्थासँग जोडिएको निरन्तर जोखिमका रूपमा हेर्नुपर्ने देखाउछ।
प्रतिवेदनले सरकारलाई दिएको मुख्य सन्देश
यो प्राविधिक प्रतिवेदन केवल भदौ १० गतेको बाढीको विवरण होइन। यसले नेपालमा बाढी पूर्वसूचना प्रणाली सुधारका लागि केही स्पष्ट पाठसमेत दिएको छ। पहिलो, नदीको माथिल्लो क्षेत्रमा सुरक्षित र भरपर्दो जलमापन केन्द्रको संख्या बढाउनुपर्छ। दोस्रो, नेपालले छिमेकी मुलुकको भूभागमा बन्ने नदी थुनिने ताल, पहिरो वा आकस्मिक जलप्रवाहबारे तत्काल सूचना प्राप्त गर्ने स्थायी संयन्त्र बलियो बनाउनुपर्छ।
तेस्रो, एउटै नदीमा एउटा मात्र जलमापन केन्द्रमा निर्भर हुने प्रणाली पर्याप्त हुँदैन। एउटा केन्द्र बगे वा बिग्रिए पनि अर्को केन्द्रबाट तथ्याङ्क प्राप्त हुने व्यवस्था आवश्यक हुन्छ। चौथो, पूर्वसूचना केवल सन्देश पठाउने काममा सीमित हुनु हुँदैन। सूचना पाएपछि नागरिकलाई कहाँ लैजाने, कुन सडक बन्द गर्ने, कुन बस्ती खाली गराउने र कुन निकायले कस्तो निर्णय लिने भन्ने स्पष्ट कार्ययोजना पनि सँगसँगै सञ्चालन हुनुपर्छ। पाँचौँ, बाढीको बहाव यात्रा र समयलाई आधार बनाएर जोखिम क्षेत्रमा पूर्वनिर्धारित खाली गर्ने योजना बनाउनुपर्छ। भोटेकोशीबाट देवघाटसम्म बाढी करिब साढे ६ घण्टामा पुगेको तथ्यले यसका लागि केही समय उपलब्ध हुने देखाएको छ।
प्रतिवेदनले निष्कर्षमा भोटेकोशी बाढीको प्राविधिक प्रतिवेदनले एउटा असाधारण प्राकृतिक घटनाको तस्वीर मात्र प्रस्तुत गरेको छैन, नेपालको बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीको वास्तविक क्षमता पनि देखाएको छ। एकातिर स्रोत क्षेत्रमा जलमापन केन्द्रहरू बगे, प्रत्यक्ष तथ्याङ्क हरायो र बाढीको वास्तविक परिमाण तत्काल पत्ता लगाउन कठिन भयो भने अर्कोतिर सीमित तथ्याङ्कका आधारमा गरिएको पूर्वानुमान र समयमै पठाइएको चेतावनीले हजारौँ परिवारलाई जोखिम क्षेत्रबाट हट्ने अवसर दियो।
सबैभन्दा महत्वपूर्ण तथ्य भनेको भोटेकोशीमा प्रवेश गरेको बाढीले करिब १६६ किलोमिटरको दूरी पार गर्दै केही घण्टामै देवघाटसम्म प्रभाव पारेको र देवघाटबाट मात्रै करिब १ करोड ९६ लाख ६५ हजार ६ सय घनमिटर अतिरिक्त पानी बगेको प्राविधिक अनुमान हो। यस घटनाले अबको प्राथमिकता स्पष्ट बनाएको छ, बाढी आएपछि उद्धार गर्नेभन्दा बाढी आउनुअघि भरपर्दो सूचना दिने, सुरक्षित स्थानमा सार्ने र जोखिम क्षेत्र खाली गराउने प्रणालीलाई अझ बलियो बनाउनु पर्दछ।