नौ जिल्लाका सडकमा बाढीको असर, यातायात प्रभावित

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँसहित नौ जिल्लाका विभिन्न सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको वा निश्चित समयका लागि सञ्चालनमा रोक लगाइएको छ ।

काठमाडौँको नागढुंगादेखि मुग्लिन सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । इलामको इलाम नगरपालिका–९ स्थित राजदुवाली झापादेखि ताप्लेजुङ जाने सडकखण्डमा पनि अत्यधिक वर्षाका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त सडकखण्डका लागि वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।

बागमती प्रदेशका काभ्रे, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न सडकखण्डमा पनि बाढी तथा पहिरोका कारण यातायात प्रभावित भएको छ ।

काभ्रेको खुर्कोट–नेपालथोक–काठमाडौँतर्फको सडकखण्डमा सम्भावित बाढीका कारण साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म भने अवस्था हेरी सवारीसाधन सञ्चालन गर्न सकिने जनाइएको छ ।

मकवानपुरमा हेटौँडा–भीमफेदी–बागमती–ललितपुर जोड्ने कान्तिलोकपथमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित खाल्टे क्षेत्रमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्लाको मुख्य राजमार्गसमेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घ्याङफेदी क्षेत्रमा तोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको मुख्य राजमार्गसमेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला, गजुरी गाउँपालिका–२ तथा गल्छी, गजुरी गाउँपालिका–५ लगायतका क्षेत्रमा बाढीका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

चितवनमा पनि बाढीका कारण मुख्य राजमार्गका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ । मुग्लिन–नारायणगढ सडकखण्डमा आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ ।

यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा आठबीसकोट नगरपालिका–६ स्थित रिगाउँखोला क्षेत्रमा बाढीका कारण जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बाढी तथा पहिरोको जोखिम रहेका सडकखण्डमा अवस्था हेरेर सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । सडकको अवस्था सुधार भएपछि तथा थप सूचना प्राप्त भएपछि यातायात सञ्चालनसम्बन्धी निर्णय गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर