हिमपहिरोले नदी थुनिएपछि बाढी आएको अनुमान
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्रमा हिमपहिरो खसेपछि भोटेकोशी नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा ठुलो बाढी नेपाल प्रवेश गरेको हुन सक्ने चिनियाँ विज्ञ टोलीको प्रारम्भिक अनुमान छ।
विपद् विज्ञ वसन्तराज अधिकारीका अनुसार चिनियाँ वैज्ञानिकहरूले तिब्बत क्षेत्रमा भएका भौगर्भिक गतिविधिको नजिकबाट विश्लेषण गरिरहेका छन्। उनी एक सम्मेलनको सिलसिलामा अहिले चीनमै छन् ।
चिनियाँ टोलीसँग नजिक रहेर गतिविधिबारे जानकारी लिइरहेका अधिकारीका अनुसार हिमपहिरो खसेपछि तिब्बत क्षेत्रमा भोटेकोशी नदी थुनिएको र त्यसबाट बनेको अस्थायी बाँध फुट्दा ठुलो बाढी रसुवा हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको हो।
बाढीको वास्तविक कारण पत्ता लगाउन विज्ञहरू स्याटलाइट तस्बिरहरूको खोजी तथा मिलानमा सक्रिय छन्। अधिकारीका अनुसार प्रभावित क्षेत्रको जमिनको अवस्थासम्बन्धी तस्बिर प्राप्त गर्ने प्रयास भइरहेको छ।
